कांग्रेस सांसद गुरुङ भ्रष्टाचार मुद्दामा दोषी ठहर,पूर्व मन्त्री न्यौपाने पनि दोषी ठहरिए

काठमाडौं,फाल्गुन,१६-काठमाडौंको भृकुटीमण्डपस्थित फनपार्कको जग्गा सस्तोमा भाडामा दिएर भ्रष्टाचार गरेको मुद्दामा नेपाली कांग्रेसका सांसद टेकबहादुर गुरुङ दोषी ठहर भएका छन् ।

मंगलबार विशेष अदालतले कांग्रेस सांसद गुरुङलाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको हो । विशेष अदालतका अध्यक्ष श्रीकान्त पौडेल, न्यायाधीशहरु शालिग्राम कोइराला र बलभद्र बाँस्तोलाको इजलासले गुरुङ सहित ९ जनालाई फनपार्कको जग्गा सस्तोमा भाडामा दिएर भ्रष्टाचार गरेको भन्दै दोषी ठहर गरेको हो ।

गुरुङ गत मंसिरमा सम्पन्न निर्वाचनमा मनाङबाट प्रतिनिधिसभामा निर्वाचित भएका थिए । त्यसैगरी विशेष अदालतले पूर्वमन्त्री बद्री न्यौपानेलाई पनि भ्रष्टाचारमा दोषी ठहर गरेको छ । विशेष अदालतका प्रवक्ता दीपेन्द्रनाथ योगीका अनुसार दोषी ठहर गरिएका व्यक्तिहरुमाथि फागुन २५ गते सजाय तोकिनेछ।

२१ मघ २०७५ मा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १४ जनाविरुद्ध मुद्दा दायर गरेकोमा अदालतले ५ जनालाई सफाई र ९ जनालाई दोषी ठहर गरेको हो ।

बद्रीप्रसाद न्यौपाने महिला बालबालिका तथा समाज कल्याणमन्त्री भएका बेला भृकुटीमण्डपको ६० रोपनी जग्गा प्रतिमहिना ५ लाख ५५ हजार भाडामा १० वर्षका लागि काठमाडौं फनपार्कलाई दिने निर्णय भएको थियो।त्यतिबेला गुरुङ भृकुटीमण्डप फनपार्कको मेला सञ्चालक थिए । मुद्दा विचाराधीन रहेकै बेला गुरुङ गत निर्वाचनमा प्रतिनिधि सभाका लागि उम्मेदवार बनेर विजयी भएका थिए ।