सिन्धुलीमा शिक्षकको कुटपिटपछि छात्राद्वारा आत्महत्या

सिन्धुली,कार्तिक,२२-सिन्धुलीको सुनकोशी गाउँपालिकामा रहेको एक सरकारी विद्यालयका शिक्षकले छात्रालाई मरणासन्न हुनेगरी कुटपिट गरेपछि छात्राले आत्महत्या गरेकी छन् ।

शिक्षकले कुटपिट गरेपछि ग्रामकाली मावि सुनकोशी-६ अमारेकी कक्षा ७ मा अध्ययनरत छात्रा गोमा विकले आत्महत्या गरेकी हुन्। सोही विद्यालयका सामाजिक शिक्षक मिलन दाहालले छात्रा विकले गृहकार्य नगरेको भन्दै विद्यालयको कक्षा कोठामै मरणासन्न हुनेगरी कुटपिट गरेको प्रारम्भिक अनुसन्धानमा खुलेको प्रहरीले जनाएको छ ।

शिक्षक दाहालले पाँचौं घण्टीमा कक्षा ७ मा अध्ययनरत १३ वर्षीया छात्रा विकसहित ५ जना विद्यार्थीलाई कुटपिट गरेको अनुसन्धानबाट खुलेको छ ।

मृतक छात्राले घरमा आएर झुण्डिएर आत्महत्या गरेकी हुन् । उनले सोमबार बेलुकी साढे चार बजे घरमै झुण्डिएको अवस्थामा फेला परेकी थिइन । मृतक छात्राको हात, नाडी र ढाडमा शिक्षकले कुटेको निलडाम छ । मृतक छात्रा गोमासहित ६ जना छात्रा र २ जना छात्रलाई शिक्षकले कुटपिट गरेको स्थानीयले बताएका छन् ।

बालबालिकालाई सतिवेरको लौरोले कुटेको विद्यार्थीहरुले बताएको स्थानीयले जानकारी दिएका छन् । कुटपिट गर्ने शिक्षक अहिले फरार रहेका छन् । जिल्ला प्रहरी कार्यालय सिन्धुलीका अनुसार प्रहरीले घटना स्थलको मुजुल्का गरिसकेको छ । मुजुल्कामा समेत प्रहरीले हातमा निलडाम रहेको उल्लेख गरेको स्थानीयले बताएका छन् ।

डीएसपी हरिकृष्ण केसीका अनुसार प्रारम्भिक अनुसन्धानमा शिक्षकले विद्यालयमा कुटेको र घरमा आइसकेपछि आत्महत्या गरेको बुझिएको छ । बालिकाको हातमा निलडाम देखिएको पनि उहाँले पुष्टि गर्नुभयो । पोष्टमार्टम रिपोर्टपछि अनुसन्धान अगाडि बढ्ने समेत उहाँले बताउनुभयो । पोष्टमार्टमका लागि छात्राको शव सिन्धुली अस्पताल ल्याइएको छ ।ईमेजखबरबाट