स्थानीय निर्वाचनले स्थायित्वः चीन

काठमाडौं, जेठ १-

चीनले स्थानीय निर्वाचनसँगै नेपालको विकास र स्थायित्व सुनिश्चित हुने अपेक्षा गरेको छ । आइतबार उपप्रधानमन्त्री एवं अर्थमन्त्री कृष्णबहादुर महरा र चिनियाँ समकक्षी वाङ याङबीच बेइजिङमा भएको वार्तामा चीनले यस्तो बताएको हो ।

चिनियाँ उपप्रधानमन्त्री वाङले स्थानीय चुनाव गराएकोमा नेपाललाई बधाईसमेत दिएका छन् ।‘स्थानीय निर्वाचनले नेपालको स्थायित्व र विकास सुनिश्चित हुनेछ ।

यसले नेपाली जनताको जीवनमा परिवर्तन ल्याउने चीनको अपेक्षा छ,’ नेपाली दूतावास बेइजिङका अनुसार महरासँगको भेटमा चिनियाँ उपप्रधानमन्त्री वाङले भने ।

अन्तर्राष्ट्रिय साझेदारीका लागि ‘बेल्ट एन्ड रोड फोरम’ को उच्चस्तरीय डायलगमा सहभागी हुने क्रममा चाइना नेसनल कन्भेन्सन सेन्टरमा महरा र वाङबीच साइडलाइन भेटवार्ता भएको थियो ।

भेटमा भौतिक पूर्वाधारमन्त्री रमेश लेखक र सूचना तथा सञ्चारमन्त्री सुरेन्द्रकुमार कार्की पनि सहभागी थिए । आजको नयाँ पत्रिकामा खबर छ ।