कालिकोट,बैशाख, ३१-
कालिकोटको नरहरीनाथ गाउँपालिकाको मालकोटमा प्रहरी र विप्लव नेतृत्वको माओवादीका कार्यकर्ताहरुसँग झडप भएको छ । स्थिति नियन्त्रणमा लिने क्रममा प्रहरीले गोली चलाउँदा दुई जना घाइते भएका छन् ।
कालीकोटका प्रमुख जिल्ला अधिकारी गिरिराज सुवेदीले विप्लव समूहले आक्रमण गरेपछि प्रतिरक्षाका लागि गोली चलाउनु परेको र गोली लागेर दुई जना सामान्य घाइते भएको जानकारी दिनुभयो ।
प्रजिअ सुवेदीका अनुसार मालकोट मतदान केन्द्रको मतपेटिकाहरु सिलबन्दी गर्नेक्रममा विप्लव समूहका कार्यकर्ताहरुले ढुंगामुढा गर्दै आक्रमण गरेका थिए । उनीहरुले कर्मचारीहरुबाट मतपेटिका खोसेर जलाइदिएका छन् ।
प्रजिअ सुवेदीले भने, ‘मतपेटिका खोसेर जलाइदिएपछि सबै क्षति भयो । मतपेटिकामा कति मत थियो भनेर एकिन जानकारी छैन ।’
उहाँका अनुसार जिल्लाकै अन्य क्षेत्रमा निर्वाचन सुरक्षाका लागि खटिएका थप सुरक्षाकर्मीलाई मालकोट वरपरका क्षेत्रमा परिचालन गरिएको छ ।
तर, उनीहरुसँग सन्चार सम्पर्क हुन नसकेकाले पूर्णविवरण संकलनमा कठिनाई भइरहेको छ ।साभार अनलाईनखवरबाट