कुवेतबाट नेपाली लिएर पहिलो जहाज काठमाडौं आइपुग्यो

काठमाडौं,जेठ,२९-विदेशमा रहेका नेपाली उद्धार गर्ने क्रममा आज कुवेतबाट आउने दुई जहाजमध्ये पहिलो जहाज काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको छ।
फाईल तस्विर : जजिरा एरवेज

नेपाली महिला लिएर जजिरा एयरवेज ए३२० न्यारोबडी जहाज काठमाडौं आएको हो। जहाजमा १ सय ६१ जना नेपाली महिला स्वदेश फर्किएको बताइएको छ। यस्तै अर्को जहाज दिउँसो साढे १ बजे आइपुग्ने विमानस्थल कार्यालयले जनाएको छ।

अब उनीहरुलाई नेपाली सेनाले प्रदेश अनुसार होल्डिङ सेन्टरमा लानेछ।त्यसपछि होटल क्वारेन्टिनमा बस्नेलाई होटलमा र अफ्नो घर फर्कनेलाई सम्बन्धीत प्रदेश तथा स्थानिय तहको समन्वयमा पठाइने छ। उनीहरु १४ दिन सरकारले निर्धारण गरेको क्वारेन्टिनमा बस्नुपर्ने छ। 

कुवेतले बिनाजरिवाना स्वदेश फर्किन पाउने गरी अस्थायी क्याम्प र डिपोर्टटेसन सेन्टरमा राखिएका नेपालीलाई आफ्नै खर्चमा दैनिक दुइटा विमानमार्फत नेपाल पठाउन नेपाल सरकारसमक्ष प्रस्ताव राखेको थियो।

अस्थायी क्याम्प र डिपोर्टटेसन सेन्टरमा २ हजार ९ सय ९१ नेपाली छन्। तीमध्ये १ हजार ६ सय ८८ पुरुष र १ हजार ३ सय ३ महिला छन्।कुवेत सरकारका अनुसार यी सबै नेपाली नेपाल फर्काउन कम्तीमा २० उडान गराउने तयारी छ।नेपाल खबर