सरकारले मंसिर १० गते प्रदेश र संघीय संसदको निर्वाचन गर्ने

काठमाडौँ,भदौ,५-

सरकारले आगामी मंसिर १० गते प्रदेश र संघीय संसदको निर्वाचन गर्ने निर्णय गरेको छ ।प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा आज बसेको मन्त्रिपरिषद्को बैठकले प्रदेश र संघको निर्वाचन एकै दिन मंसिर १० गते गर्न निर्वाचन आयोगलाई सिफारिस गर्ने निर्णय गरेको सूचना तथा सञ्चार मन्त्री मोहनबहादुर बस्नेतले जानकारी दिनुभयो ।

त्यसैगरी : मन्त्रिपरिषद्ले प्रधानमन्त्री देउवाको आसन्न भारत भ्रमणमा भूकम्पपछि पुनःनिर्माण प्राधिकरणलाई आर्थिक सहयोग गर्ने भनी भारतले गरेको प्रतिबद्धता, पुराना सन्धि सम्झौता, लक्षणपुर बाँध, कोशी बाँध र त्यसबाट भएको नोक्सानीका बारेमा छलफल गर्ने निर्णय गरेको छ ।

कोशी बाँध बगाउँदा स्थानीय जनतालाई भारत सरकारले दिने भनेको ५० करोड अहिलेसम्म नदिएको हुँदा त्यसबारे समेत भ्रमणमा छलफल हुनेछ ।पञ्चेश्वर जलविद्युत् आयोजना, वाणिज्य व्यापार, सन् १९५० को सन्धि, नेपाल–भारत रेल्वेलगायतका बारेमा पनि भ्रमणमा छलफल हुने बताइएको छ ।