रोल्पामा आङ खस्ने रोगबाट पीडित महिलाको सङ्ख्या बढ्दै

रोल्पा,मंसिर २९-रोल्पामा आङ खस्ने रोगबाट पीडित महिलाको सङ्ख्या बढ्दै गएको देखिएको छ । जिल्ला स्वास्थ्य कार्यालय, रोल्पाले जिल्लाका विभिन्न स्थानमा सञ्चालन गरेको घुम्ती स्वास्थ्य शिविरमा स्वास्थ्य जाँच गराएका महिलामध्ये अधिकांशमा सो समस्या देखिएको हो । अघिल्लो आवमा सो सङ्ख्या ५८ रहेकोमा गत आर्थीक वर्षमा एकसय आठ पुगेको जिल्ला स्वास्थ्य कार्यालय रोल्पाका पब्लिक हेल्थ नर्स आशा थापाले जानकारी दिनुभयो । तीमध्ये २२ जनालाई जटिल शल्यक्रिया गर्नु परेका कारण जिल्लाबाहिर सिफारिस गरिएको थापाले बताउनुभयो । चालु आर्थीक वर्षमा गरिएको एक घुम्ती शिविरमा ५३ जनालाई स्वास्थ्य परीक्षण गरिएको थियो ।

जसमध्ये आठजनालाई भेरी अञ्चल अस्पताल, नेपालगन्ज र राप्ती उपक्षेत्रीय अस्पताल, दाङ पठाइएको जिल्ला स्वास्थ्य कार्यालय रोल्पाले जनाएको छ । अधिकांश महिलामा तल्लो पेट दुख्ने, सेतो पानी बग्ने समस्या देखिएको बताइएको छ । सानै उमेरमा विवाह गर्नु, सुत्केरी अवस्थामा गह्रौँ भारी भोक्नु तथा आवश्यक मात्रामा आराम र पोषणयुक्त खानाको उपलब्धता नभएका कारण यो समस्या देखिएको जिल्ला स्वास्थ्य कार्यालय रोल्पाका सिनियर अहेव कुलबहादुर डाँगीले बताउनुभयो । पछिल्ला दिनमा जनचेतनामा आएको परिवर्तन, पारिवारिक सहयोग तथा बिरामी आफैँ जागरुक भएका कारण यो रोगका बिरामी बढी देखिएको थापाले बताउनुभयो ।