प्रधानमन्त्री कप क्रिकेटको उपाधि आर्मीलाई, एपीएफ ३३ रनले पराजित

फाईल तस्विर !!

काठमाडौं,माघ,१७-चौथो संस्करणको प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगिताको उपाधि त्रिभुवन आर्मी क्लबले जितेको छ । आर्मीले फाइनलमा अर्को विभागीय टिम एपीएफ क्लबलाई ३३ रनले पराजित गर्दै प्रतियोगिताको उपाधि जित्न सफल भएको हो ।

कीर्तिपुर स्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आर्मीले दिएको २ सय १२ रनको लक्ष्य पछ्याएकोे एपीएफ ४१ ओभर ३ बलमा अलआउट हुँदै १ सय ७८ रनमा समेटियो । एपीएफका लागि आसिफ शेखले ६१ रनको अर्धशतकीय इनिङ्स खेले पनि टोलीको हार टार्न सकेनन् । उनले ७१ बलमा ६१ रन जोड्दै खराब सुरुवात गरेको एपीएफको इनिङ्स उकासेका थिए ।

यस्तै शंकर रानाले २१ रन जोड्दा सुमित महर्जनले १९ रन बनाए । सन्दीप जोराले २९ र सुवास खकुरेलले १४ रन बनाउँदा कप्तान शरद भेषवाकर शून्य रनमा आउट भए । आर्मीका जितेन्द्र मुखिया, बिक्रम सोब र शाहब आलमले ३÷३ विकेट लिए ।

फाईल तस्विर !!

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको आर्मीले ५० ओभर ९ विकेट गुमाएर २ सय ११ रन बनाएको थियो । आर्मीका लागि हरी चौहानले सर्वाधिक ५८ रनको अर्धशतकीय इनिङ्स खेले । राजेश पुलामीले २८ रन बनाउदा लोकेश बमले १५ रन बनाए । यस्तै शाहब आलम २५ रन जोड्दै अविजित रहे । एपीएफका अविनास बोहोराले ४ विकेट लिए । किशोर महतोले २, कमल ऐरी, शरद भेषवाकर र भुवन कार्कीले १÷१ विकेट लिए ।

उपाधि जितेको आर्मीले नगद १० लाख र उपविजेता एपीएफले ५ लाख प्राप्त गरेका छन् ।