मनाङमा बाढीको प्रभाव:तीन सय विस्थापित,सडक अवरुद्ध

फाईल तस्विर !!

काठमाडौं,असार,१-तीन दिन देखि परिरहेको अविरल वर्षासँगै मनाङमा बाढी आएको छ। बाढी आएपछि चामेका करिव ३ सय जनालाई सुरक्षित स्थानमा सारिएको छ।

चामेका ३ सय जनालाई नवनिर्मित कारागार भवनमा सारिएको प्रमुख जिल्ला अधिकारी विष्णु लामिछानेले बताउनुभयो ।

वर्षाका कारण मर्स्याङ्दी नदीमा लगातार वहाव बढेको लामिछानेले बताउनुभयो ।चामे बजार हुँदै बग्ने दुई ठाडो खोला घट्टो र स्याक्लुमा पनि बाढी आएको छ। बाढीसँगै खोलामा ठूला ढुंगा झरेका छन्।

मनाङको हुलाक कार्यालय र त्यस वरपरका घर बगाएको लामिछानेले जानकारी दिनुभयो ।

उहाँका अनुसार मर्स्याङ्दी नदी छेउका ५ वटा घर डुबेका छन्। लमजुङको सीमानामा रहेको ताल भन्ने गाउँमा ४०/५० वटा घर ढुबेको जानकारी आएको उहाँले बताउनुभयो ।

चामे बेसिशहर सडकको तिमाङ भन्ने स्थानको बेलीब्रीज पनि बाढीले बगाएको छ।चामेको नयाँ बजारस्थित पक्की पुल बाढीले बगाएको छ। यस्तै स्याक्लु खोलाले २ वटा काठे पुल बगाउँदा आवागनमा समस्या भएको छ।

बाढीका कारण अहिले सडक अवरुद्ध भएको छ भने बिजुली पनि नभएको प्रमुख जिल्ला अधिकारी लामिछानेले बताउनुभयो ।