वर्षा र बाढीको वितण्डा:देशका विभिन्न १५ ठाउँमा पहिरो,आधा दर्जन बढी जिल्लामा बाढी

फाईल तस्विर ।।

काठमाडौं,असार,२-लगातारको वर्षा र बाढीले देशका विभिन्न ठाउँमा वितण्डा मच्चाएको छ । मनसुन प्रवेश भएको १ हप्ताको अवधिमै देशका विभिन्न १५ ठाउँमा पहिरो गएको छ भने आधा दर्जन बढी जिल्लामा बाढी आएको छ ।

अविरल वर्षासँगैको बाढीका कारण नारायणी र कोसीको सहायक नदी बलेफीमा पानीको सतहले खतराको सूचक पार गरिसकेको छ । नारायणी नदीमा पानीको सतह ८ मिटर पुगे खतराको तह पार गरेको मानिन्छ ।

बाढी पूर्वानुमान महाशाखाका अनुसार हिजो बेलुकी ११ बजेतिर नारायणी नदीको देबघाट मापन केन्द्रमा पानीको सतह १० दशमलव २४ मिटरभन्दा माथि पुगेको छ ।

नारायणीमा पानीको सतह बढ्दो क्रममा रहेको महाशाखाले जानकारी दिएको छ । हिजो साँझै नारायणीको देवघाट क्षेत्रमा जल सतहले खतरास्तर पार गरेपछि त्रिवेणीस्थित गण्डक ब्यारेजका ३६ वटै ढोका खोलिएको छ ।

बाढीका कारण मनाङ र लमजुङमा पनि भौतिक क्षति पुगेको विवरण प्राप्त भएको छ ।

विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनिल पोखरेलका अनुसार मनाङको चामेमा बाढीले चार घर बगाएको र पाँच घरमा क्षति पु¥याएको छ । घट्टेखोला र च्याटुखोलामा आएको बाढीले चामे बजार डुबेको छ ।

चामे बजारका २ सय स्थानीयलाई कारागारको भवनमा सारिएको छ । बाढीका कारण विस्थापितहरुको व्यवस्थापनका लागि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले काम गरिरहेको जनाइएको छ ।

यस्तै, मनाङको दोर्दी खोलामा आएको बाढीले २ वटा घर बगाएको छ। दोर्दी खोलामा आएको बाढीले हिजो साँझ दोर्दी गाउँपालिका–८ हिलेबजारस्थित चतुरे विक र कन्या तामाङको घर बगाएको हो ।

दोर्दी खोलाको बाढीले दोर्दी गाउँपालिका–६ कृतिपुरका कृष्ण घलेको कृषि फार्म समेत बगाएको जिल्ला प्रहरी कार्यालय लमजुङले जानकारी दिएको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार पछिल्लो समय गण्डकी र लुम्बिनी प्रदेशको पूर्वी तथा बागमतीको पश्चिमी भुभागमा ठूलो पानी परेको छ।

आज बागमती, लुम्बिनी र गण्डकी प्रदेशमा धेरै ठूलो पानी पर्ने आँकलन मौसम पूर्वानुमान महाशाखाले गरेको छ । झरी पर्ने प्रणाली केही दिनमा पूर्वतिर सर्दै जाने प्रक्षेपण गरिएको छ ।

नेपालमा मनसुन सक्रिय भएयता रसुवा, पर्वत, स्याङ्जा, पाल्पा, गुल्मी, अर्घाखाँची, रोल्पा, प्युठान, सल्यान, कालिकोट, बाजुरा, अछाम, बैतडी र दाचुृलामा पहिरो गएको छ ।

बाग्लुङ, बाजुरा, दैलेख, मनाङ, मुस्ताङ, गोरखा, लमजुङ र सिन्धुपाल्चोकमा बाढी गएको छ ।