नेपाल र भारतबीच नमुना सम्बन्ध बनाउन चाहन्छौं : प्रधानमन्त्री ओली

सगरमाथाको देशलाई सागरसँग जोडिने : भारतीय प्रधानमन्त्री मोदीको भनाई

काठमाण्डौं,चैत,२४-

भारत भ्रमणमा रहनु भएका प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल र भारतबीच नमुना सम्बन्ध बनाउन चाहेको बताउनु भएको छ ।

दुई देशको प्रतिनिधिमण्डलबीचको भेटवार्तापछि आयोजित संयुक्त पत्रकार सम्मेलनमा उनले नेपाल र भारतको समृद्धिमा एक अर्काको सहयोग र सहकार्य हुने नमुना सम्बन्ध होस् भन्ने आफूहरुको चाहना रहेको बताउनु भएको हो ।

आफ्नो भारत भ्रमणले दुई देशबीच सम्बन्धको नयाँ बाटो र अर्थ पहिल्याउने भन्दै ओलीले दुई छिमेकीबीचको सम्बन्ध २१ औं शताब्दीको यथार्थताको आधारमा हुने पनि बताउनु भएको छ ।

यसैगरी : दुई प्रधानमन्त्रीको संयुक्त पत्रकार सम्मेलनमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारतीय बन्दरगाह नेपालले प्रयोग गर्दा सगरमाथाको देशलाई सागरसँग जोडिने बताउनुभयो ।

भारतको विकासका लागि आफ्नो ‘सबका साथ, सबका विकास’ र ओलीले नेपालमा ल्याएको ‘समृद्ध नेपाल, सुखी नेपाली’ को नारा एकअर्काको पूरक रहेको पनि मोदीले बताउनुभयो । सबै कनेक्टिभिटी परियोजनालाई गति दिने निर्णय गरेको पनि उहाँले बताउनुभयो । पञ्चेश्वर, अरूण तेस्राे तथा सप्तकाेशी-सुनकाेशी परियाेजनालाइ तीब्रता दिन दुवै प्रधानमन्त्री सहमत भएकाे माेदीले बताउनुभयो ।

प्रधानमन्त्री मोदीले नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले आफू तीव्र आर्थिक विकासका लागि आफ्नो ‘बोल्ड’ भिजनबारे जानकारी दिएको भन्दै उहाँले भारत नेपालको आर्थिक विकासका लागि सहयोग गर्न तयार रहेको बताउनुभयो ।