हैदराबादबाटै पाईपलाइन र वीरगञ्ज भन्सार जाँच चौकीको उद्घाटन

प्रधानमन्त्री ओलीद्वारा गान्धीप्रति श्रद्धाञ्जलि

काठमाण्डू,चैत्र,२४-

भारत भ्रमणमा रहनु भएका प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दिल्लीमा मोतीहारी–अमलेखगञ्ज पेट्रोलियम प्रोडक्सन पाइपलाइन  शिलन्यास  गरेका छन्।

संयुक्त वक्तव्य सार्वजनिक गर्न आज दिल्लीको हैदराबाद हाउसमा। आयोजित सम्मेलनमा दुबै प्रधानमन्त्रीले स्वीच थिचेर पाइपलाईन निर्माणको शिलन्यास गरेका हुन्। 

अहिले पाइपलाइनका लागि वीरगञ्जमा धमाधम पाइप आइरहेको छ । अब रुट क्लेयरेन्समा समस्या नभएका क्षेत्रबाट पाइप बिछ्याउन सुरु हुनेछ ।

नेपाल आयल निगमका कार्यकारी निर्देशक सुशील भट्टराईकाअनुसार भारतीय आयल कर्पोरेशनले पाइप बिछ्याउने काममा लागि ठेक्का लगाइसकेको छ । अब सडकमा क्लेयरेन्सका समस्या नभएको क्षेत्रबाट पाइप बिछ्याउन सुरु गरिनेछ ।

यसैविच :  नेपाल भारत सीमामा बनाइएको वीरगञ्जको एकीकृत भन्सार जाँच चौकी (आईसीपी)को उद्घाटन भएको छ । प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नयाँ दिल्लीस्थित हैदराबाद हाउसबाटै यसको उद्घाटन गरेका हुन् ।

भारत सरकारले एक अर्ब ३९ करोड रुपैयाँ लगानीमा यो आईसीपी निर्माण गरेको हो । वीरगञ्जस्थित सिर्सिया खाल्वाटोला र अलौगाउँको बीचमा बनेको छ, यो जाँच चौकी ।

यो भन्सारको आधुनिक अवधारणा हो । दुई मुलुकको सीमामा भन्सारसँग सम्बन्धित सबै सुविधा एकै ठाउँमा उपलब्ध गराउने अवधारणा हो यो ।यसबाट दुई मुलुकबीचको व्यापार सहजीकरण हुनुका साथै खुला नाकामा हुने विचलन नियन्त्रण हुने विश्वास छ ।

त्यसैगरी : भारतको राजकीय भ्रमणमा रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओलीले आज बिहान नयाँ दिल्लीको राजघाटस्थित महात्मा गान्धीको समाधिस्थलमा पुगेर उहाँप्रति श्रद्धाञ्जलि अर्पण गर्नुभएको छ ।

प्रधानमन्त्री ओलीले समाधिस्थलमा पुष्पगुच्छा अर्पण गर्नुभएको थियो भने त्यहाँ रहेको पुस्तिकामा हस्ताक्षर र गान्धीप्रति श्रद्धाञ्जलिसहित उहाँको स्मरण गर्नुभयो ।