संविधान संशोधन विधेयक संसदबाट अस्वीकृत

हुन्छ भन्ने पक्षमा ३४७ र हुन्न भन्ने विपक्षमा २०६ मत

काठमाडौं, भदौ,५-

संविधान संशोधन विधेयक संसद वैठकबाट अस्वीकृत भएको छ । मधेश केन्द्रीत दलहरुको चित्त बुझाउने उद्धेश्यले ल्याइएको संशोधन विधेयकमाथि सोमबार (आज) संसद वैठकमा मतदान भएकोमा दुई तिहाइ मतप्राप्त हुन सकेन ।

संसद वैठकमा आज ५५३ जना सांसदहरु उपस्थित रहेकोमा संशोधन विधेयकको पक्षमा ३४७ मत मात्रै पर्‍यो भने संशोधनको विपक्षमा २०६ मत पर्‍यो । संसदमा हाल ५९२ सदस्य रहेकोमा दुई तिहाइ पुग्न ३९५ मत आवश्यक पर्दछ ।

पुष्पकमल दाहाल नेतृत्वको सरकारले संसदमा पेश गरेको संशोधन विधेयक लामो समयको अलमलपछि सोमबार (आज) मतदानमा लगिएको हो । विधेयकको पक्षमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, राष्ट्रिय जनता पार्टी, संघीय समाजवादी फोरम, लोकतान्त्रिक फोरम लगायतका पार्टीहरु रहेका थिए ।

त्यस्तै, नेकपा एमाले, राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय जनमोर्चा, नेपाल मजदुर किसान पार्टी, नेपाः राष्ट्रिय पार्टीलगायतका दलहरु भने संशोधनको विपक्षमा रहेका थिए । संशोधनको विपक्षमा रहेको नेकपा मालेले भने मतदान प्रक्रिया बहिष्कार गरेको थियो ।

यसअघि आइतबार (हिजो) र सोमबार (आज) संशोधन विधेयकमाथि दफावार छलफल भएको थियो । प्रदेशको सिमांकन, अंगिकृत नागरिकता, भाषालगायतका विषयहरु समेटेर संशोधन पेश गरिएको थियो ।

संशोधन विधेयक असफल भएपछि विपक्षी नेकपा एमालेले भने सरकारको नैतिकतामाथि नै गम्भीर प्रश्न उठेको बताएको छ । सरकारले ल्याएको विधेयक असफल हुनुले सरकारको वैधानिकतामाथि नै प्रश्न उठेको प्रतिक्रिया एमाले नेताहरुले दिएका छन् ।