निवार्चनको लागि उत्साहजनक रुपमा उम्मेद्धवारी

रोशन घर्ति
दाङ,बैशाख,२०-
निर्वाचन आयोगले बैशाख ३१ गते पहिलो चरणमा सञ्चालन हुने ३ वटा प्रदेशका ३४ जिल्लाका २८३ स्थानीय तह निर्वाचनका लागि उम्मेदवारी मनोनयन पत्र दर्ता उत्साहजनक रुपमा सम्पन्न भएको जनाएको छ ।

प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवले पहिलो चरणअन्तर्गत मङ्गलबार भएको उम्मेदवारी मनोनयन दर्ता शान्तिपूर्ण र उत्साहजनक रुपमा सम्पन्न भएको जानकारी दिनुभयो ।

स्थानीय तह अन्तर्गत पहिलो चरणमा हुने निर्वाचनका लागि तीनवटा प्रदेशका ३४ जिल्लाका २ सय ८३ वटा स्थानीय तहमा हिजो उम्मेदवारी मनोनयन दर्ता भएको हो ।

पहिलो चरणमा प्रदेश नं. ३, ४ र ६ मा सञ्चालन हुने यस निर्वाचनमा तीन वटै प्रदेशमा गरी ४ वटा महानगरपालिका, १ उपमहानगर, ९२ वटा नगरपालिकाका मेयर, उपमेयर तथा १ सय ८६ वटा गाउँपालिकाका अध्यक्ष तथा उपाध्यक्ष पदका लागि मनोनयन दर्ता गरिएको हो ।

महानगरका १२३, उपमहानगरका १९, नगरपालिकाका एकहजार ९१ र गाउँपालिकाका १३ सय ६५ गरी जम्मा २५ सय ९८ वडा अध्यक्षका लागि मनोनयन दर्ता भएको छ ।  हिजो दर्ता भएका उम्मेदवार विरुद्ध आज दाबी विरोध गर्न सकिने भएको छ । सर्वधारणाले पनि उजुरी दर्ता गर्न पाउनेछन् ।images (1)त्यसका लागि आज बिहान १० बजेदेखि दिउँसो १ बजेसम्मको समय तय गरिएको निर्वाचन आयोगका सचिव गोपीनाथ मैनालीले सीआईएनलाई जानकारी दिनुभयो । मैनालीका अनुसार आज निर्वाचन अधिकृतको कार्यालयले मनोनयनपत्र जाँच पनि गर्नेछ । भोलि अन्तिम नामावली प्रकाशित हुनेछ ।

सचिव मैनालीले १४ हजारभन्दा बढीको उम्मेदवारी परेको र अन्तिम नामावली संकलन भइरहेको जानकारी दिनुभयो । कुल २५ सय ९८ वडाका लागि चार सदस्यका दरले १० हजार ३ सय ९२ वडा सदस्य पदका लागि मनोनयन दर्ता भएको छ । प्रदेश नम्बर ३, ४ र ६ का ३४ जिल्लाको २ सय ८३ स्थानीय तहका लागि हुने निर्वाचनमा कुल ४९ लाख ५६ हजार ९२५ मतदाता रहेका छन् ।