अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाइदै

इन्द्र कार्की
महेन्द्रनगर,बैशाख,१८
Stop Labor१२८ औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस अर्थात् मे दिवस आज विविध कार्यक्रम गरी मनाइँदैछ । सन् १८८६ मा अमेरिकाको सिकागोमा ‘आठ घन्टा काम, आठ घन्टा मनोरञ्जन र आठ घन्टा आराम’ नारासहित सुरु भएको मजदुर आन्दोलनको सम्झनामा विश्वभर श्रमिक दिवस मनाइन्छ । सन् १८८९ मा फ्रान्सको पेरिसमा सम्पन्न विश्वका श्रम सङ्गठन एवम् श्रमिक नेताको बैठकले विश्व श्रमिक दिवस विश्वभर मनाउने निर्णय गरेको थियो । त्यस यता सन् १८९० देखि हरेक वर्ष मे १ तारिखमा श्रमिक दिवस मनाउन सुरु गरिएको हो । मजदुरहरुले यस दिवसलाई पर्वका रुपमा लिँदै आफ्ना हकअधिकारको सुनिश्चितताका लागि सरकार र रोजगारदातालाई दबाब दिन विभिन्न कार्यक्रम गरी मनाउँछन् । नेपालमा समेत मजदुर सङ्गठनले विभिन्न कार्यक्रम गरी यो दिवस मनाइ रहेका छन् । नेपालमा विराटनरगमा २००७ सालमा मजदुर आन्दोलनसँगै यो दिवस मनाउन थालिएको हो । वि. सं. २०४६ को राजनीतिक परिवर्तनसँगै नेपालमा यो दिवसमा सार्वजनिक बिदा दिन थालिएको हो । मजदुर आवद्द अखिल नेपाल ट्रेड युनियन महासङ्घ, नेपाल ट्रेड युनियन काँग्रेस, अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासङ्घ, नेपाल लोकतान्त्रिक ट्रेड युनियन महासङ्घ स्वतन्त्र लगायतका मजदुर सङ्गठनले  विविध कार्यक्रम गरी मजदुर दिवस देशै भरि मनाइ रहेका छन् ।