डडेल्धुरा जिल्लाका ग्रामीण क्षेत्रमा जाने अधिकांश सडक मापदण्ड विपरीत

डडेल्धुरा,मंसिर २९-डडेल्धुरा जिल्लाका ग्रामीण क्षेत्रमा जाने अधिकांश सडक मापदण्ड विपरीत रहेका छन् । सडकहरु निर्माण भई यातायत सुचारु अवस्थामा रहेको भए तापनि जिल्ला प्राविधिक कार्यालयलाई भने ती सडकका बारेमा कुनै जानकारी समेत नरहेको जनाइएको छ । जिल्लामा रहेका केही ग्रामीण सडकमा यातायात सञ्चालन गर्नका लागि जोखिमपूर्ण भए पनि यातायात व्यवसायीदेखि अन्य सरोकारवाला निकायले भने कुनै चासो देखाएको छैन ।

जिल्लाको डुङ्री–देवल, रडुवा– वडम–मणिलेक सडक, शिराड–रुपाललगायतका करिब आधा दर्जन ग्रामीण सडकमा यातायात सञ्चालन गर्न जोखिमपूर्ण रहेका छन् ।यातायात सञ्चालनका लागि निर्माण गरिने मापदण्ड बिनाका सडक निर्माण भएका कारण जुनसुकै बेला पनि ठूलो दुर्घटना हुनसक्ने प्राविधिक कार्यालयका इन्जिनियर दीपक ओझाले बताउनुभयो । जिल्लामा निर्माण भइरहेका अधिकांश ग्रामीण सडक निर्माण गर्दा जिल्ला प्राविधिक कार्यालय डडेल्धुरालाई जानकारी नै नहुने गरेको जिल्ला प्राविधिक कार्यालयका प्रमुख रामकुमार श्रेष्ठले बताउनुभयो ।