अस्थायी राजधानी र प्रदेशप्रमुखबारे पुनर्विचार हुनसक्छ : ओली

काठमाडौं, माघ, ४-

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले तोकेको प्रदेशको अस्थायी राजधानी र प्रदेशप्रमुखका सम्बन्धमा नयाँ सरकार बनेपछि पुनर्विचार हुनसक्ने बताउनु भएको छ ।

आफ्नो नियमित स्वास्थ्य परीक्षण गराइ आज थाइल्यान्डको राजधानी बैंककबाट स्वदेश फर्केपछि अध्यक्ष ओलीले अस्थायी राजधानी र प्रदेशप्रमुख ढिलै भएपनि तोक्ने काम हुनु सरकारको जिम्मेवारी भएपनि कहाँ–कहाँ अस्थायी राजधानी तोक्ने ? कहाँ–कहाँ प्रदेशको राजधानी तय गर्ने ? भन्ने विषयमा प्रदेशसभाले आवश्यकता र सम्भावना हेरी निर्णय गर्ने भएकाले अहिले यसको विपक्षमा आन्दोलित हुन आवश्यक नभएको पनि बताउनुभयो ।

उहाँले प्रदेशप्रमुखहरुका सम्बन्धमा नयाँ सरकारले थप बुझेर यथावत् राख्ने वा हेरफेर गर्ने भन्नेबारेमा आवश्यक निर्णय लिने प्रस्ट गर्नुभयो । 

निर्वाचनबाट ताजा जनादेश आइसकेको अवस्थामा नयाँ सरकार गठनमा भएको ढिलाइ लोकतन्त्र र संविधान अनुकूल नभएको उहाँले दोहोर्‍याउनुभयो ।

उहाँले नेकपा माओवादी केन्द्रसँगको एकता प्रक्रिया तीव्रताका साथ अगाडि बढ्ने जनाउँदै यस सम्बन्धमा कुनै भ्रम र अन्योल नरहेको दाबी गर्नुभयो ।

उहाँले परीक्षणको प्रतिवेदनबाट आफ्नो स्वास्थ्य ठीक रहेको पाइएको र बैंककमा रहँदा कुनै अन्य भेटघाट नभएको जानकारी दिनुभयो ।अध्यक्ष ओली स्वास्थ्य परीक्षणका लागि गत पुस २६ गते बैंकक  जानुभएको थियो । साभार ईमेजखबरबाट