नेपाल लगातार विजय,दिपेन्द्रसिंह ऐरीले बनाए फेरी विश्व कीर्तिमान

फाईल तस्विरमा : नेपाली अलराउण्डर क्रिकेटर दीपेन्द्रसिंह ऐरी

टोकियो,जापान,वैशाख,१-नेपालले ओमानमा जारी एसिसी मेन्स प्रिमियर कपको आफ्नो दोस्रो खेलमा कतारलाई ३२ रनले पराजित गरेको छ।

शनिबार ओमानको अल अमरेत क्रिकेट मैदानमा नेपालले दिएको २११ रनको विशाल लक्ष्य पछ्याएको कतारले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर जम्मा १७८ रनमात्र बनाउन सक्यो।

कतारका लागि कप्तान मोहम्मद तनवीरले सर्वाधिक ६३ रन जोडेपनि जितका लागि पर्याप्त हुन सकेन। मोहम्मद अह्नाफले २३, हिमान्शु राथोड २२ र अदनान मिर्जाले १९ रनको योगदान दिए।

बलिङमा नेपालका ललित राजवंशी, दीपेन्द्रसिंह ऐरी र गुल्सन झाले २/२, अभिनास बोहरा र कुशल मल्लले १/१ विकेट लिए।

यसअघि टस जितेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै २१० रन बनाएको थियो। नेपालका लागि दीपेन्द्र सिंह ऐरीले कीर्तिमानी खेल प्रदर्शन गरे। पारीको अन्तिम ओभरमा छ बलमा ऐरीले छ छक्का प्रहार गर्दै अन्तर्राष्ट्रिय टि-२० खेलमा एकै ओभरमा ६ छक्का हान्ने पहिलो नेपाली र विश्वकै तेस्रो खेलाडी बनेका छन्।उनी समग्र अन्तराष्ट्रिय क्रिकेटका पाँचौ खेलाडी बनी कीर्तिमान राख्न सफल भएका छन् ।

यसअघि भारतका युवराज सिंहले सन् २००७ को टी–२० विश्वकपमा इङ्ग्ल्यान्डविरुद्ध एकै ओभरमा ६ छक्का बनाएका थिए।त्यस्तै सन् २०२१ मा वेस्ट इन्डिजका किरन पोलार्डले श्रीङ्का विरुद्धको खेलमा ६ छक्का प्रहार गरेका थिए।

यस्तै एक दिवसीय अन्तर्राष्ट्रिय खेलमा दक्षिण अफ्रिकाका हर्स्चेल गिब्सले सन् २००७ को विश्वकपमा नेदरल्यान्ड्सविरुद्धको खेलमा उक्त कीर्तिमान् बनाएका थिए।यस्तै अमेरिकाका जसकरण मल्होत्राले पनि पपुवा न्युगिनी विरुद्धको एक दिवसीय खेलमा त्यस्तै कीर्तिमान् बनाएका थिए।

यसैविच : नेपालका लागि ऐरीले सर्वाधिक ६४ रन बनाए। कूल २१ बल खेलेका उनले सात छक्का र तीन चौका प्रहार गरे।नेपालका लागि ओपनर आशिफ शेखले पनि अर्धशतकीय पारी खेले।उनले ४१ बलमा छ चौकाको सहयोगमा ५२ रन बनाए।

कुशल मल्लले १८ बल खेल्ने क्रममा तीन छक्का र दुई चौकाको सहयोगमा ३५ रन बनाए। साथै कप्तान रोहित पौडेलले १८, कुशल भुर्तेलले १२, सन्दीप जोराले सात, गलसन झा र विवेक यादवले पाँच/पाँच रनको योगदान दिए।

कतारका लागि हिमांशु राठोर र मुसावर शाहले तीन/तीन विकेट लिए भने अमीर फारुकले एक विकेट लिए।

नेपालले पहिलो खेलमा मलेसियालाई ५ विकेटले हराएको थियो।कतार भने पहिलो खेलमा हङकङसँग पराजित भएको थियो।

त्यसैगरी : नेपालले एसीसी प्रिमियर कपको पहिलो खेलमा शुक्रवार मलेशियालाई पराजित गर्दै नेपाली राष्ट्रिय टोलीले वर्ष २०८० को बिदाइ गरेको थियो।शनिवार कतारलाई ३२ रनले पराजित गर्दै टोलीले २०८१ साल नयाँ वर्षको सुखद् सुरुआत गरेको छ।