पात्लेको तालकोटसम्म सडक पुग्यो

ओखलढुंगा,कार्त्तीक,१७-

ओखलढुंगाका अति दुर्गम गाउँ पात्लेको तालकोटसम्म सडक पुगेपछि स्थानीयले फूलमालाले स्वागत गरेका छन् । ओखलढुंगा सदरमुकामबाट पहिलो पटक सडकको ट्रयाक खुलेपछि सवारीसहित पुगेका अतिथिहरुलाई स्थानीयले फूलमालाले स्वागत गरेका हुन् ।

साविक पात्ले गाविसको बागचिन्दो–रचने–तालकोट सडक उद्घाटनमा स्थानीयले नाचगानसहित खुसियाली समेत मनाए । ५ किलोमिटर सडक २४ लाखमा खनिएपछि मोलुङ गाउँपालिकाको सबैभन्दा दुर्गम गाउँमा सडक पुगेको छ । वडा कार्यालय नजिकै सडक पुगेपछि आवत जावत् र ढुवानीका लागि सहज भएको वडा अध्यक्ष हेमबहादुर सुनुवारले बताउनुभयो ।

आफ्नै गाउँपालिकाको सबैभन्दा दुर्गम गाउँमा सडक पुगेपछिको खुसियालीमा प्रतिनिधी सभाका सांसद यज्ञराज सुनुवार गायिक सिता माझीसँगै छमछमी नाच्नुभयो । उहाँले भन्नुभयो– ‘निर्वाचनमा अर्को पटक आउादा गाडी चढेर आउछु भनेको थिए, अहिले म खुसी छु ।

गाउँमा सडक पुगेपछि स्थानीय खुसी भएका छन् । सडकले गाउँको जीवनस्तर सुधार गर्ने अपेक्षा लिइएको दलित अगुवा पदम परियारले बताउनुभयो । सडक उद्घाटनमा प्रतिनिधी सभाका सांसद सुनुवार, प्रदेश सभाका सांसद अम्बीरबाबु गूरुङ लगायतका अतिथिहरु पुगेका थिए ।