७ गते गुटको भेला हो, हामी जाँदैनौं-योगेश भट्टराई

काठमाडौं,चैत्र,५-नेकपा एमालेको असन्तुष्ट पक्षका प्रचार विभागका प्रमुख योगश भट्टराईले चैत ७ गतेको केन्द्रीय कमिटी बैठकमा नजाने बताउनुभएको छ ।बिहीबार कार्यकर्ता भेला समापन पछि पत्रकारहरूसँग कुरा गर्दै भट्टराईले ७ गते गुटको भेला भएकाले आफूहरू नजाने बताउनुभएको हो ।

‘केन्द्रीय कमिटीको बैठक सम्भव पनि छैन, त्यो गुटको भेला हो,’ उहाँले भन्नुभयो, ‘जसरी यो भेलामा केपी ओली आउनुभएन, त्यसरी नै त्यो बैठकमा हामी जाँदैनौं ।’फागुन २८ गतेको निर्णय केपी ओली फिर्ता लिएको खण्डमा आफूहरुले सोच्न सक्ने भट्टराईको भनाइ छ ।

(कारबाहीको प्रक्रिया किन यति ढिलो गरेको हो, हामीनै छक्क परेका छौं-योगेश भट्टराई)

यसैबिच:भट्टराईले प्रधानमन्त्रीले आफूहरूलाई कारबाही गर्ने प्रक्रिया ढिला गरेकोमा अचम्म मान्नुभएको छ ।बिहीबार माधवकुमार नेपाल र झलनाथ खनाल पक्षले आयोजना गरेको कार्यकर्ता भेलापछि पत्रकारसँग कुरा गर्दै उहाँले आफूहरूलाई कारबाही गर्न अध्यक्ष केपी शर्मा ओली हिच्किचाएको देख्दा अचम्म लागेको बताउनुभयो ।

‘उहाँले हामीलाई कारबाही गर्ने प्रक्रिया किन यति ढिलो गरिरहनुभएको छ, छक्क परेका छौं हामी,’ उहाँले भन्नभुयो, ‘छिटो गर्नुस् भनेको खोइ, किन एकदम ढिला गर्नुभएको हो ।’

प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले विधान विपरितका गतिविधि गर्नेलाई कारबाही गर्ने भन्दै आउनुृभएको छ । उहाँले बिहीबार नै संसदीय दलको बैठकमा अनुशासनको कारबाही गर्नको लागि संसदीय बोर्ड गर्नुभएको छ । बोर्डको नेतृत्व ओलीले नै गर्नुभएको छ ।