एमाले थप संकटमाःदुवै पक्ष आ-आफ्नै अडान,बामदेवको मिलाउन जोड

काठमाडौं,चैत्र,५-नेपाल कम्युुनिष्ट पार्टी (एमाले)मा अध्यक्ष केपी शर्मा ओली र नेपाल पक्षले समानान्तर कमिटी विस्तारदेखि गुटगत भेलालाई निरन्तरता दिन थालेपछि पार्टी एकता थप संकटमा पर्दै गएको छ ।

दुवै पक्षका नेताहरू एकअर्को विरुद्ध दोषारोपणमा उत्रिएका छन् । संस्थापन पक्षले नेपाल पक्षलाई आत्मालोचनासहित पार्टीमा फर्कन शर्त राख्दा नेपाल पक्ष पनि ओलीले गरेका निर्णय बदर हुनुपर्ने अडानमा छ ।

दुवै पक्षको गुटगत भेलाबाट ‘वार की पार’को बाटो रोज्नुले पार्टी एक ढिक्का बनिरहने सम्भावना झिनो बन्दै गएको हो । अदालतको फैसलाले ब्यूँतिएको नेकपा एमालेका ओली इतर पक्ष २ जेठ २०७५ अघिकै संगठन र विचारको अडानबाट पछि हटेको छैन ।

४ महिनापछि पार्टी मूख्यालय धुम्बाराहीमा भएको भेटवार्तामा समेत ओलीका निर्णयहरू खारेज हुनुपर्ने नेपाल पक्षको प्रस्तावलाई ओलीले अस्वीकार गरेपछि राष्ट्रिय कार्यकर्ता भेलाको आयोजना गरिएको थियो । चियापानमा आउन र भेला नगर्न गरिएको ओली पक्षको आग्रहलाई नेपाल पक्षले अटेर गरेपछि ओलीले इतर पक्षलाई कारबाहीको संकेत दिइसक्नुभएको छ ।

‘पार्टीमा अब उप्रान्त अराजकता, अनुशासनहीनता, उश्रृंखलता, विधिविधान विपरितका काम कारबाही, पार्टीको एकता विरोध क्रियकलापहरु गर्न छुट हुने छैन,’ ओलीले भन्नुभयो, ‘त्यस्ता कुराहरू मान्य हुँदैन र सहेर बस्न पनि सकिँदैन, अचाक्ली भो ।’

त्यसो त बिहीबार बालुवाटारमा बोलाइएको एमालेको संसदीय दलको बैठकमा समेत अनुपस्थित नेपाल पक्षका सांसदलाई आत्मालोचनासहित संसदीय दल र पार्टीको कार्यक्रममा सहभागी हुन आह्वान गरिएको छ ।

नेपाल पक्षका नेताहरू पनि ओली आत्मलोचनासहित सच्चिनुपर्ने अडानमा छन् । पार्टी संकट अवस्था पुग्नुको मुख्य जिम्मेवारी नै ओली भएको आरोप लगाउँदै राष्ट्रिय भेलामा सहभागी नेताहरूले ओलीको निर्णय फिर्तापछि मात्र एकताको सम्भावना रहेको बताएका छन् ।

नेताहरूलाई लडाउने, भिडाउने काम गर्दै कार्यकर्ता र जनतालाई भ्रम फैलाउने काममा ओली तल्लीन भएको माधवकुमार नेपालले बताउनुहुन्छ । ओलीले सरकारी ओहदा र साधनस्रोतको चरम दुरुपयोग गर्दै कुर्सी बचाउनको लागि संविधानलाई समाप्त पार्ने कोसिस गरेको उहाँको आरोप छ ।

पार्टीलाई एकताको सुत्रमा बाँध्न एकता राष्ट्रिय अभियान सञ्चालन गर्दै आउनुभएका पार्टी उपाध्यक्ष बामदेव गौतम पनि दुई पक्षीयलाई मिलाउन जोडबल गर्दै आउनुभएको छ । आफूहरू गर्नुपर्ने काम धेरै भएको र त्यसलाई नेकपा एमालेले मात्र एकताबद्ध भएर पूरा गर्नसक्ने गौतमको भनाइ छ ।

तत्कालीन नेकपामा ओली र दाहाल–नेपाल पक्षलाई मिलाउने प्रयत्नको भूमिकामा देखिनुभएका उपाध्यक्ष गौतम यतिबेला एमालेको विवाद शान्त पार्ने दौडधूपमा देखिनुएको छ । तर, दुवै पक्ष पार्टीको सुदृढ एकता र विधानसम्मत सञ्चालनका लागि एक जुट हुनुपर्नेमा ओली पूरानो अवस्थामा फर्किन नचाहनु र नेपाल पक्ष पनि भेलाबाटै निर्णयहरू गर्दै जानुले पार्टी एकता जोगिने सम्भावनाको दूरी बढ्दै गएको देखिन्छ ।