बागलुङमा मगर समुदायको मौलिक भाषा लोप हुने खतरा

बागलुङ,चैत्र,१५-बागलुङको निसीखोला गाउँपालिकामा बस्ने मगर समुदायले आफ्नै खाम भाषा बोल्न छाडेका छन् ।

नयाँ पुस्तामा मातृ भाषाप्रतिको मोह कम हुँदै जाँदा मौलिक खाम भाषा लोप हुने खतरा बढेको हो ।

निसीखोलाका नागरिकहरुको आ–आफ्नै भेषभूषा, भाषा र संस्कृति छ।पछिल्लो समय आधुनिकताले गर्दा उनीहरुको संस्कार संस्कृतिहरु विस्तारै हराउन थालेका छन् ।यहाँ बोलिने मगर खाम भाषा पनि कम प्रयोगमा आउन थालेको छ ।

निसीखोलामा बोलिने मगर खाम भाषा नेपाली तथा खस भाषाको चेपुवामा परेका कारण लोपोन्मुख अवस्थामा पुगेको भन्दै त्यसको संरक्षणमा ध्यान दिन स्थानीयले माग गरेका छन्।

नयाँ पुस्ता काम विशेष र अध्ययनको लागि पोखरा, पाल्पा र काठमाडौं लगायतका ठाउँमा गएर फर्केपछि नेपाली भाषामै कुराकानी गर्न रुचाउने हुँदा मगर खाम भाष संकटमा पर्दै गईरहेको स्थानीय जितकुमारी घर्ती मगरले बताउनुहुन्छ ।

विद्यालयमा हुने पठनपाठनदेखि सबै सरकारी कामकाज समेत नेपाली भाषामा हुँदा मगर खाम भाषा संकटमा पर्दै गईरहेको छ । अठार मगरात अन्तरगत बोलिने मगर खाम भाषा निसीखोला गाउँपालिकाका वडा न. ५ र ६ मा बोलिन्छ ।

राज्यको प्रष्ट नीति नहुँदा पुर्खौँदेखि बोलिदै आएको मगर खाम भाषा र मगर संस्कृति संकटमा पर्दै गएकोले त्यसको संरक्षणको लागि स्थानीय सरकारले ध्यान दिनुपर्ने स्थानीय सुर्यमान बुढा मगरले बताउनुभयो ।

मगर समुदाय त एउटा उदाहरण मात्र हो । फरक जातजाति र भाषाभाषीले नै चिनिएको हाम्रो मुलुकमा यस्ता भाषा र संस्कृतीको संरक्षणमा राज्यको तर्फबाट विशेष ध्यान दिन आवश्यक छ ।यो समाचार ईमेजखबरमा डम्मर बुढा मगरले लेखेका हुन् ।