नेपालमा पक्राउ परेका १ सय २२ चिनियाँलाई चीन पठाइयो

काठमाडौं,पुस,२३-नेपालमा पक्राउ परेका १ सय २२ जना चिनियाँ नागरिकलाई बुधबार चीन पठाइएको छ । चीन सरकारले ल्याएको चाइना इस्टर्नको जहाजमा राखेर उनीहरुलाई चीन पठाईएको हो ।

प्रहरीले चिनियाँ अधिकारीहरुको सहयोगमा पुस ७ गते नियन्त्रणमा लिएका १ सय २२ जनामध्ये अधिकांश ४० वर्षभन्दा कम उमेर समूहका युवायुवती भएको खुलेको छ।चीनको फुजियान तथा हङकङ, थाइल्यान्ड र ताइवानबाट चिनियाँ माफियाहरुको प्रलोभनमा नेपाल आएका थिए ।

नेपालको मनमैजु, बुढानीलकण्ठ लगायतका क्षेत्रमा बस्दै आएका उनीहरुलाई प्रहरीले पक्राउ गरी अभद्र व्यवहारको मुद्दा चलाएको थियो । त्यसमा एक हजार रुपैयाँ धरौटी तिरेर छुटेका उनीहरुलाई अध्यागमन कार्यालयले पक्राउ गरेको थियो । ती सबै १ सय २२ जनालाई आफ्नो देश लैजान चीनले नै दुईवटा विमान ल्याएको थियो ।

ती युवायुवतीहरु केही हजार चिनियाँ युआन र आईफोनको प्रलोभन तथा मोजमस्तीका लागि नेपाल आई साइबर अपराधमा सक्रिय थिए।

चिनियाँ माफियाहरुले नेपालका उच्च अधिकारीहरुसँगको सम्पर्क र पहुँचका आधारमा यसरी आउने युवायुवतीकै नाममा सफ्टवेयर कम्पनी, रेस्टुरेन्ट र होटल दर्ता गराएका थिए। तिनै व्यवसायको आवरणमा उनीहरु अपराधकर्म गरिरहेका थिए। उनीहरुले चीनका ठूला बैंकबाट तानेको रकम हुन्डीमार्फत चीन, थाइल्यान्ड, फिलिपिन्स र सिंगापुरमा पठाएको प्रारम्भिक अनुसन्धानमा खुलेको हो।

‘नेपालबाट बुधबार चीन लगिएका युवायुवतीहरुलाई त्यहाँ हिरासतमा राखेर थप अनुसन्धान हुन्छ,’ उच्च स्रोतका अनुसार ‘दोषी देखिए कारबाही गर्ने बताएको छ ।