सनसिटीमा बस्ने २ जनामा कोरोना संक्रमण: त्यहाॅं बस्ने सबैको परीक्षण गरिने

काठमाण्डौं,बैशाख,२-पेप्सीकोला टाउन प्लानिङस्थित सनसिटी अपार्टमेन्टमा बसेका एकै परिवारका तीन जना मध्ये दुई जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ ।एक जनाको पीसीआर परीक्षणमा कोरोना संक्रमण नभेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

मंगलबार आएको रिपोर्टमा ८१ वर्षीय आमा र ५७ वर्षीय छोरामा कोरोना पोजिटिभ देखिएको थियो भने बुहारीको कोरोना नेगेटिभ देखिएको मन्त्रालयले पुष्टि गरेको हो ।

सोमबार र्‍यापिड टेष्टका क्रममा एकैघरका तीन जनाको कोरोना पोजिटिभ देखिएपछि पाटन अस्पतालको आइसोलेसनमा भर्ना गरेर पुनः परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला पठाइएको थियो ।

बेलायतबाट चैत ५ गते नेपाल फर्केका उनीहरु सनसिटी अपार्टमेन्टमा बसोबास गर्दै आएका छन् ।सनसिटीमा पाँचवटा विल्डिङ छन् । अहिले कोरोना संक्रमण देखिएको परिवार ‘ए’ बिल्डिङमा बस्दै आएका थिए ।

र्‍यापिड टेष्टमा उनीहरुको रिपोर्ट पोजेटिभ आएपछि अपार्टमेन्टलाई प्रहरीले शील गरेको छ । त्यहाँ रहेका मानिसहरुलाई बाहिर जान दिइएको छैन । अपार्टमेन्टमा बस्ने सबैको परीक्षण गर्ने स्वास्थ्य मन्त्रालयले बताएकाे छ।