ओलीको नेतृत्वमा एमालेको निर्वाचन परिचालन समिति गठन, तीनै कमिटीको बैठक डाकियो

१५ विभागमा सचिव मनोनित, चुनावी घोषणापत्र मस्यौदा समिति गठन

काठमाडौं,साउन,२६-नेकपा (एमाले)ले प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनका लागि अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा निर्वाचन परिचालन समिति गठन गरेको छ ।

बिहीबार पार्टी कार्यालय च्यासलमा बसेको सचिवालय बैठकले अध्यक्ष ओलीको नेतृत्वमा निर्वाचन परिचालन समिति गठन गरेको पार्टीका प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले जानकारी दिनुभयो ।

समितिमा सबै केन्द्रीय कमिटी सदस्य, अनुशासन आयोग, निर्वाचन आयोग, लेखा आयोग र केन्द्रीय सल्लाहकार परिषद्का पदाधिकारीहरू, प्रदेश कमिटीका अध्यक्षहरू, जनसंगठन राष्ट्रिय कमिटीका अध्यक्ष र महासचिवहरू तथा केन्द्रीय विभागका सचिवहरू रहनेछन् ।

यस्तै, बैठकले निर्वाचनको घोषणापत्र निर्माणका लागि ८ सदस्यीय चुनावी घोषणापत्र मस्यौदा समिति गठन गर्ने निर्णय गरेको छ। अध्यक्ष ओलीकै नेतृत्वमा बनेकाे समितिमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्षहरू अष्टलक्ष्मी शाक्य, रामबहादुर थापा, विष्णुप्रसाद पौडेल, महासचिव शंकर पोखरेल, उपमहासचिवहरू प्रदीप ज्ञवाली र विष्णु रिमाल सदस्य छन् ।

त्यसैगरी, बैठकले विभिन्न विभागहरूमा सचिव मनोनयन गरेको छ ।

बैठकले उद्योग, वाणिज्य तथा आपूर्ति विभागमा सुन्दर भुसाल, कृषि तथा पशुपंक्षी विभागको सचिवमा विमल शर्मा, पुस्तकालय तथा अभिलेख विभागमा सुरज अधिकारी, पर्यटन तथा नागरिक उड्ययन विभागमा घनेन्द्र श्रेष्ठलाई मनोनित गरेको छ ।

यस्तै, युवा तथा खेलकुद विभागमा मेघराज पौडेल, भूमि व्यवस्था विभागमा आरसी लामिछाने, भौतिक, पूर्वाधार तथा यातायात व्यवस्था विभागमा एसपी शर्मा, सहकारी तथा गरिबी निवारण विभाग केबी उप्रेती मनोनित भएका छन् ।

त्यसैगरी, विपद् व्यवस्थापन विभागमा सोभित ढकाल, विज्ञान तथा प्रविधि विभागमा सञ्जीब रोकाया, सामाजिक सुरक्षा विभागमा पुस्कर खात र शहरी विकास विभागमा गजेन्द्र थपलिया मनोनयन भएका छन् ।

बैठकले खानी तथा तह विकास विभागको निर्देशिका, नीति अनुसन्धान प्रतिष्ठानको कार्यविधि, वित्त तथा कोष व्यवस्थापन विभागद्वारा प्रस्तावित आर्थिक वर्ष २०७९÷८० को बजेट पारित गरेको प्रचारविभाग प्रमुख गुरुङले जानकारी दिनुभयो ।

बैठकले अन्य पार्टीबाट एमाले प्रवेश गर्नेहरूको व्यवस्थापनका लागि जिल्ला कमिटीभन्दा माथिका कमिटीहरूको सिफारिसका आधारमा केन्द्रीय कमिटीले आवश्यक निर्णय लिने निर्णय गरेको छ ।

यसका साथै बिहीबारको बैठकले केन्द्रीय सदस्यहरूको जिम्मेवारी हेरफेर गर्दै मधेश प्रदेशको सहइन्चार्जमा रामदयाल मण्डल, महोत्तरी जिल्लाका सहइन्चार्ज सरोज यादवलाई इन्चार्जको जिम्मेवारी दिएको छ ।

धनुषाको सहइन्चार्जमा प्रवलनारायण यादव, भूमि व्यवस्था विभागको उपप्रमुखमा भीम कार्की र कास्की जिल्ला इन्चार्जको जिम्मेवारी कृष्ण थापालाई दिने निर्णय पनि बैठकले गरेको छ ।

बैठकले नेपाली कांग्रेसबाट एमाले प्रवेश गरेका बागलुङका नवराज पौडेललाई केन्द्रीय सल्लाहकार परिषद्को सदस्यमा मनोनित गरेको छ । उहाँ कांग्रेस महासमिति सदस्य हुनुहुन्थ्यो ।

त्यसैगरी बैठकले दाङका जीवन गौतम, कपिलवस्तुका बृजेशकुमार गुप्ता, स्याङ्जाका धर्मदत्त देवकोटा र झापाका अमृत सापकोटालाई केन्द्रीय सदस्यमा मनोनित गरेको छ ।

बैठकले भदौ ७ गते स्थायी कमिटी बैठक, ९ गते पोलिटब्यूरो बैठक र भदौ १० र ११ गते केन्द्रीय कमिटी बैठक बस्ने निर्णयसमेत गरेको छ ।ईमेजबाट