ईरानमा युक्रेनियन जहाज दुर्घटना १ सय ७६ जनाको मृत्यु

ईरान,पुस २३-ईरानको तेहराननजिकै बुधबार बिहान दुर्घटना भएको युक्रेनियन जहाजमा सवार सबै १ सय ७६ जनाको मृत्यु भएको छ।तेहरानस्थित इमाम खुमेनी अन्तर्राष्ट्रिय विमानस्थलबाट उड्नासाथ बोइङ ७३७ विमान बुधबार बिहानै दुर्घटनामा परेको थियो।

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले विमानका सवार सबैको मृत्यु भएको पुष्टि गर्दै यस घटना दुखदायी भएको बताएका छन्।विमानमा १६७ यात्रुसहित ९ जना चालक दलका सदस्य थिए। सीएनएनका अनुसार विमान दुर्घटनामा सबैभन्दा बढी इरानका नागरिकको मृत्यु भएको छ।

इरानका ८२ नागरिकको मृत्यु भएको छ भने क्यानडाका ६३ जनाको मृत्यु भएको छ। यस्तै ११ युक्रेन, १० स्वीडेन, ४ अफगान, ३ जनर्म र ३ वेलायती नागरिकको मृत्यु भएको छ।

इरानी समाचार संस्था आइआरएनका अनुसार प्राविधिक समस्याका कारण विमान दुर्घटनामा परेको हो। इरानस्थित युक्रेनी दूतावासले इन्जिनमा आएको खराबीका कारण दुर्घटना भएको बताएको छ।

सन् २०१८ यता बोइङको विमान दुर्घटनामा परेको यो तेस्रो ठूलो घटना हो।यसअघि बोइङको दुईवटा म्याक्स ७३७ विमान दुर्घटनामा परेपछि हाल म्याक्स ७३७ मोडलका विमान विश्वभर ग्राउन्डेन छन्।

सन् २०१८ अक्टोबर २९ का दिन लायन एयरको फ्लाइट ६१० दुर्घटनामा पर्दा १८९ जनाको मृत्यु भएको थियो।सन् २०१९ मार्च १० मा इथोपियन एयरलाइन्सको फ्लाइट ३०२ दुर्घटनामा पर्दा १ सय ५७ जनाको मृत्यु भएको थियो।