एमाले माओवादी पार्टी एकता सम्बन्धमा आज छलफल हुने

काठमाण्डौं,चैत्र,२८-

एमाले र माओवादी केन्द्रले ९ बैशाखमा हुने भनिएको एकताको औपचारिक निर्णय दुबै पार्टीले आज गर्ने भएका छन्। त्यस सम्बन्धी निर्णय गर्न एकता संयोजन समितिको बैठक आज साँझ ५ बजे हुने भएको छ।

 

एकताको आधार तयार पार्न गठन गरिएका दुबै कार्यदलले लेनिन जयन्तीको अवसर पारेर ९ बैशाखमा पार्टी एकता गर्न सिफारिस गरेका छन्। तर, एकता हुने औपचारिक मितिको घोषणा भने भएको छैन।

२२ चैत्रमा दुबै कार्यदलले संयोजन समितिको बैठकमा प्रतिवेदन पेश गरेका थिए। पेश गरेपनि त्यस सम्बन्धमा छलफल सुरु भएको थिएन। आजको बैठकमा दुबै कार्यदलको प्रतिवेदनमाथि छलफल सुरु हुने बताइएको छ।

९ बैशाखमा पार्टी एकताको सिफारिस गरेपनि चुनाव चिन्ह, पार्टी निकायमा पदीय भागबण्डा र जनयुद्धलाई हेर्ने दृष्टिकोणका सन्दर्भमा सहमति जुटिसकेको छैन। त्यसैले, यी विषयमा आजदेखि छलफल सुरु हुनेछ।

संयोजन समितिको बैठक हिजो साँझ बस्ने तय गरिएको थियो। तर, चीन भ्रमणमा रहेका एमाले बरिष्ठ नेता माधव नेपाल आइनपुगेका कारण बैठक आजका लागि सारिएको हो। नेपाल बुधबार बिहान काठमाडौं आइपुग्दैछन्।नेपाल खबरबाट