डेढ वर्षपछि पर्यटकका लागि नेपाल खुला

Image Not Foundकाठमाडौं,असोज,८-सरकारले डेढ वर्षपछि पर्यटकका लागि नेपाल भ्रमण खुला गरेको छ । कोरोना भाइरस (कोभिड–१९) को संक्रमण बढेपछि २०७६ फागुनदेखि सरकारले अनअराइभल भिसा दिन रोक लगाएको थियो । यो निर्णयलाई संशोधन गर्दै सरकारले अनअराइभल भिसा खुला गरेको हो ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले ‘विदेशबाट नेपाल आगमन हुने र नेपालबाट प्रस्थान गर्ने यात्रुहरूको यात्रा व्यवस्थापनसम्बन्धी आदेश’ बिहीवार सार्वजनिक गर्दै अनअराइभल भिसा खुला गरेको बताएको छ । आदेश राजपत्रमा प्रकाशित भएपछि मात्रै लागू हुनेछ । सरकारको यो निर्णयसँगै अब विदेशी पर्यटकले नेपाल आउँदा होटेल क्वारेन्टाइन बस्नु नपर्ने र विमानस्थलबाट सीधै भिसा पाएर गन्तव्यमा जान पाउनेछन् ।

यसका लागि सरकारले केही शर्तहरू भने तोकेको छ । उक्त आदेशअनुसार कोभिड–१९ विरुद्ध खोपको मात्रा पूरा गरेका नागरिकलाई मात्रै यस्तो भिसा दिइनेछ । अनअराइभल भिसाका लागि नेपाल आउने पर्यटकले नेपालको अध्यागमन प्रवेश विन्दुमा भिसाका लागि आवेदन दिनुपर्नेछ । आवेदन दिँदा उनीहरूले कोभिडविरुद्धको खोपको मात्रा पूरा गरेको १४ दिन पूरा भएको प्रमाण, हवाई उडानका लागि चेक इन हुनुभन्दा ७२ घण्टाभित्रको कोभिड परीक्षणको रिपोर्ट नेगेटिभ भएको प्रमाण पेश गर्नुपर्नेछ ।

नेपालमा पर्वतारोहण र पदयात्रामा आउनेहरूले अनुमतिको प्रतिलिपि, होटेल बुक गरेको प्रमाण र कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) अनलाइन फारम भरी त्यसको प्रिन्टजस्ता कागजातसमेत पेश गर्नुपर्ने व्यवस्था सरकारले गरेको छ । यी कागजात अर्थात् शर्तहरू पालना गरेका पर्यटकहरू गन्तव्यमा जान पाउनेछन् । सरकारको यो निर्णयलाई पर्यटन व्यवसायीहरूले सकरात्मक रूपमा लिएका छन् ।

सरकारले ढिलै भए पनि सकारात्मक निर्णय गरेको एक्सपिडिशन अपरेटर्स एशोसिएशन अफ नेपाल (इओन)का अध्यक्ष डम्बर पराजुलीले बताए । सरकारले डेढदेखि २ महीना नै ढिला गरेर अनअराइभल भिसा खुलाउँदा धेरै पर्यटक आकर्षित नहुने उनको तर्क छ ।

‘सरकारको कदम सही हो तर ढिलो गरी यो निर्णय आयो,’ पराजुलीले भने, ‘२ महीनाअघि भएको भए राम्रै प्रभाव हुने थियो किनभने नेपालमा भिसा खुला गर्नासाथ पर्यटक आइहाल्ने भन्ने हुँदैन । पर्यटकले पर्यटकीय सिजनका लागि पहिलादेखि नै तयारी, बिदा, बुकिङ समय पाउने थिए, यसले राम्रो नतीजा ल्याउन सक्थ्यो ।’

नेपालमा ट्रेकिङका लागि अक्टोबर–नोभेम्बर मुख्य सिजन हो । त्यसका लागि पहिला नै पर्यटकहरूले तयारी गर्थे । अहिले नेपाल आउने समय शुरू हुन लागेकाले यो निर्णय ढिला भएको उनको भनाइ छ । यति ढिला गरी भिसा खुलाउँदा आउन चाहने पर्यटक आउन कम समय हुने र यसले नेपालले पर्यटक गुमाउन सक्ने सम्भावना भने देखाउने उनको तर्क छ । ट्रेकिङ एजेन्सिज् एशोसिएशन अफ नेपाल (टान)का अध्यक्ष खुमबहादुर सुवेदीले सरकारको निर्णयले पर्यटक आगमनमा सामान्य वृद्धि हुन सक्ने बताए । यो निर्णयले सामान्य अवस्थामा जस्तै पर्यटक आउन सक्ने अवस्था भने नरहेको उनको भनाइ छ ।

सरकारले भिसा खुलाएसँगै घुम्न नेपाल सुरक्षित छ, भन्ने सन्देश पनि गएको व्यवसायीहरू बताउँछन् । कोरोना भाइरसले विश्व पर्यटन नै थलिएका बेला नेपालमा पनि सन् २०२० यता पर्यटक आगमन संख्या अत्यन्त न्यून हुँदै आएको छ । नेपाल पर्यटन बोर्डका अनुसार २०२० मा २ लाख ३० हजार पर्यटक आएकोमा २०२१ को ८ महीनामा जम्मा ६९ हजार पर्यटक नेपाल आएका छन् । यो वर्ष पर्यटक ट्रेकिङ, पर्वतारोहण तथा ससानो गोष्ठी, सेमिनारका लागि नेपाल आएको देखिन्छ ।आर्थिक अभियान