माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीले पायो मान्यता

लोकतान्त्रिक समाजवादी पार्टी निर्वाचन आयोगमा दर्ता

माधव नेपालको एकीकृत समाजवादीले पायो दलको वैधताकाठमाण्डौं,भदौ,९-माधवकुमार नेपाल नेतृत्वको नेपाल  कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) पार्टी निर्वाचन आयोगमा राजनीतिक दलका रुपमा दर्ता भएको छ। 

बुधबार दिउँसो भएको सनाखतपछि निर्वाचन आयोगले नेपाल नेतृत्वको एकीकृत समाजवादीलाई राजनीतिक दलका रुपमा वैधता दिएको हो।एकीकृत समाजवादी निर्वाचन आयोगमा १६६ नम्बरमा दर्ता भएको छ। यो दलको केन्द्रीय कार्यालय नयाँ बानेश्वर काठमाडौंमा रहेको छ।

दलको दर्ताको प्रमाणपत्र निर्वाचन आयोगका अधिकारीले समाजवादी नेता राजेन्द्र पाण्डेलाई हस्तान्तरण गरेका छन्। बुधबार २ बजेसम्म माधव नेपालको नयाँ पार्टीका लागि एमालेबाट छुट्टिएका ५५ जना केन्द्रीय सदस्य र ३० जना संघीय सांसदले सनाखत गरेका थिए।त्यसपछि आयोगले एमालेबाट छुट्टिएर बनेको एकीकृत समाजवादीलाई दलका रुपमा दर्ता गरेर वैधता दिएको हो। 

तर मंगलबार निर्वाचन आयोगमा नाम दर्ता गराएका सांसदहरु सोमप्रसाद पाण्डेसहितका चार सांसदको सनाखत हुन नसकेको हो। यससँगै नयाँ पार्टी दर्ताका लागि पेश गरिएको नामावलीको सनाखत करिब सकिएको छ। 

‘नेपाल कम्युनिष्ट पार्टी (एकीकृत मार्क्सवादी-लेनिनवादी) नामक राजनीतिक दलबाट छुट्टिई बनेको नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) नामक राजनीतिक दललाई राजनीतिक दलसम्बन्धी ऐन २०७३, (दोस्रो संशोधन अध्यादेश, २०७८) को दफा ३३ बमोजिम निर्वाचन आयोगमा दर्ता गर्ने गरी आयोगबाट मिति २०७८/०५/०९ मा निर्णय भएकाले यो प्रमाणपत्र दिइएको छ’, आयोगको तर्फबाट प्रदान गरिएको पत्रमा भनिएको छ। 

यसैबिच : महन्थ ठाकुरको नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) निर्वाचन आयोगमा दर्ता भएको छ । बुधबार आयोगमा पुगी १४ जना सांसदले नयाँ दल दर्ताका लागि गरेको हस्ताक्षर सनाखत भएपछि आयोगले लोसपालाई छुट्टै दलको रुपमा दर्ता गरेको हो । आयोगमा लोसपाको दर्ता नम्बर १६७ रहेको छ ।

सरकारले राजनीतिक दल विभाजनका लागि केन्द्रीय समिति वा संसदीय दलमा २० प्रतिशत सदस्य संख्या भए पुग्ने अध्यादेश ल्याएपछि महन्थ ठाकुर पक्षले भदौ २ गते लोसपा दर्ताका लागि आयोगमा निवेदन दिएको थियो । त्यसका लागि निर्वाचन आयोगले बुधबार सनाखतका लागि बोलाएको हो ।

लोसपाले तत्कालिन जसपाको केन्द्रीय समितिको नभई संसदीय दलको २० प्रतिशत संख्या पुर्‍याई दल विभाजन गरेको हो ।

लोकतान्त्रिक समाजवादी पार्टी दर्ताका लागि प्रतिनिधिसभाका सदस्यहरु महन्थ ठाकुर, राजेन्द्र महतो, शरतसिंह भण्डारी, अनिलकुमार झा, लक्ष्मणलाल कर्ण, चन्दा चौधरी, निर्जला राउत, विमलप्रसाद श्रीवास्तव, उमाशंकर अरगरिया, एकवाल मियाँ, चन्द्रकान्त चौधरी, दुलारीदेवी खँग खत्वे, कल्लुदेवी विश्वकर्मा, शेखरकुमार सिंहले सनाखत गरेका छन् ।