काबुल विमानस्थल विस्फोट:अमेरिकी सैनिकसहित मारिनेको संख्या ९० पुग्यो

बाइडेनले दिए बदला लिने चेतावनी

काठमाडौँ,भदौ,११-अफगानिस्तानको काबुल विमानस्थलबाहिर भएका दुई श्रृंखलाबद्ध विस्फोटमा ज्यान गुमाउनेको संख्या ९० पुगेको छ ।पेन्टागनले मारिनेमा अमेरिकी सैनिकहरु पनि रहेको पुष्टि गरेको छ।विमानस्थलमा खटिएका १३ अमेरिकी सैनिकसहित ९० जनाभन्दा बढीले ज्यान गुमाएका हुन् ।

मारिनेहरुमा २८ जना तालिवान लडाकुसमेत रहेको तालिवानले जनाएको छ ।इस्लामिक आतंकवादी संस्था आईएसको सहयोगी संगठन आइएस खोरासानले विष्फोटको जिम्मा लिएको छ । घटनामा परेर १२० जना भन्दा बढी घाइते भएका छन्।

अफ्गनिस्तानमा तालिवानले सत्ता कब्जा गरेपछि देश छोड्न काबुल विमानस्थल आसपास भेला भएको भिडलाई लक्षित गरी विष्फोट गराइएको थियो ।आफ्ना थुप्रै लडाकुहरु घाइते भएको जनाएको तालिवानले घटनाको निन्दा गर्दै ३१ अगष्ट पछि अफगानिस्तानमा अमेरिकी उपस्थिति आवश्यक छैन भन्ने यो घटनाले पनि पुष्टि गरेको बताएको छ ।

यसैबीच अमेरिकी राष्ट्रपति जो बाइडेनले काबुल विमानस्थल बाहिर बम हमला गरिएपनि त्यहाँबाट अमेरिकी तथा अन्य नागरिकको उद्धार कार्य नरोकिने जनाउनुभएको छ ।विमानस्थलमा विष्फोट भएपछि प्रतिक्रिया दिँदै बाइडेनले दोषीहरुलाई जुनसुकै ठाउँबाट खोजेर न्यायको कठघरामा उभ्याउने चेतावनी पनि दिनुभयो ।उहाँले यस्ता आतंकवादी हमलाबाट अमेरिका विचलित नहुने र उद्धारको कामलाई जारी राख्ने पनि स्पष्ट पार्नु भएको छ।

त्यसैगरी:सन् २०११ यता अफगानिस्तानमा अमेरिकी सेनामाथि भएको यो सबैभन्दा ठूलो हमला हो । सन् २०११ को अगस्तमा टांगी उपत्यकामा अमेरिकी सेना चढेको हेलिकप्टरलाई तालिवानले खसाल्दा ६० जना सैनिकको मृत्यु भएको थियो ।

पश्चिमा सरकारले विमानस्थलमा इस्लामिक स्टेटको अफगानिस्तान ब्रान्च आईएस–केले हमला गर्न सक्ने चेतावनी आफ्ना नागरिक जारी गरेको केही घण्टापछि नै विमानस्थलमा विस्फोट भएको थियो । स्थानीय समअनुसार साँझ ६ बजे विमानस्थलसँगै रहेको बारोन होटलको नजिकै पहिलो विस्फोट भएको थियो ।

उक्त होटलमा बेलायती अधिकारीहरुले बेलायत जान चाहने अफगानीहरुको कागजी प्रक्रियाका लागि प्रयोग गरिरहेका थिए । त्यसलगत्तै गोलीबारी शुरु भएको थियो भने विमानस्थलको मुख्य द्वारमध्ये एक एबे गेट नजिकै दोस्रो विस्फोट भएको थियो ।