एकैदिन २४८२ जना कोरोना संक्रमित थपिए,४४ जनाको मृत्यु

काठमाडौं,भदौ,९-नेपालमा विगत २४ घण्टामा २ हजार ४८२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधवार दिएको जानकारी अनुसार सो अवधिमा ९ हजार ७११ ओटा पीसीआर परीक्षण गरिएकोमा १ हजार ८६२ जना, र ५ हजार ५७९ ओटा एन्टिजेन परीक्षण गरिएकोमा ६२० जनासमेत गरी  कुल २ हजार ४८२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

यसैगरी उक्त अवधिमा १ हजार ७८१ जना कोरोना संक्रमणमुक्त भएका छन् । मन्त्रालयका अनुसार सो अवधिमा  ४४ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना संक्रमणका कारण १० हजार ६१२ जनाको मृत्यु भइसकेको छ ।

 सो अवधिमा काठमाडौं उपत्यकामा ७४५ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ । मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा ५१५ जना, भक्तपुर जिल्लामा १४२ जना र ललितपुर जिल्लामा ८८ जना संक्रमित थपिएका हुन्।

हाल नेपालमा कोरोनाका सक्रिय संक्रमितको संख्या  ३८ हजार २८७ रहेको छ । त्यसमध्ये ३५ हजार २५० जना होम आईसोलेशन र  ३ हजार ३७ जना संस्थागत आईसोलेशनमा रहेका छन्।