नेपाली भूमिभित्र कुनै गतिविधि नगर्न भारतलाई नेपालको आग्रह

काठमाण्डौ,बैशाख,२७-नेपाली भूमि लिपुलेक हुँदै भारतले सडक खनेर चीनको सीमासम्म पुर्‍याएकाे विषयमा सरकारले आधिकारिक धारणा जनाएको छ । परराष्ट्र मन्त्रालयले प्रेस विज्ञप्तिमार्फत भारतले नेपाली भूमि हुँदै सडक खनेकोमा गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

सन् १८१६ को सुगौली सन्धि अनुसार काली पूर्वका लिम्पियाधुरा, कालापानी र लिपुलेक नेपालमै पर्ने दाबी गर्दै सरकारले यो विषयमा नेपालले कुटनीतिक नोट पठाउँदा पठाउँदै पनि भारतले सडक बनाउनु दुःखद भएको जनाएको छ । 

सीमामा रहेका विषयमा दुई देशबीच छलफल हुनुपर्ने र ऐतिहासिक सन्धि, कागजात र नक्साको आधारमा सीमा विवाद समाधान गर्नुपर्ने विषयलाई भारतले एकलौटी रुपमा प्रयोग गर्न नपाउने भन्दै सरकारले भारतको पछिल्लो कदम तत्काल फिर्ता गर्न माग गरेको छ । 

सन २०१५ मा भारत र चीनले नेपालको भूमि हुँदै सडक पुर्‍याउन गरेको सहमतिमा पनि नेपालले त्यतिखेरै असहमति जनाएको भन्दै परराष्ट्र मन्त्रालयले एकपक्षीय रुपमा सिमानामा भएका गतिविधिबारे तत्कालै कुटनीतिक छलफलको पनि माग गरेको छ । 

सीमा विवादका विषयमा दुई देशले बनाएको प्रबुद्ध समूहको प्रतिवेदन अनुसार काम गरेर अघि बढ्नुपर्ने पनि नेपाल सरकारले जनाएको छ । साभार उज्यालोअनलाईनबाट