मिडिया काउन्सिलसम्बन्धी विधेयक फिर्ता गराउने सभामुख महराको आश्वासन

काठमाडौं, वैशाख,३१-

सभामुख कृष्णबहादुर महराले मिडिया काउन्सिलसम्बन्धी विधेयक फिर्ता गराएर सहमतिको वातावरण बनाउन पहल गर्ने आश्वासन दिनुभएको छ । 

विधेयकको विरोधमा नेपाल प्रेस युनियनले आज बुझाएको ज्ञापनपत्र लिँदै सभामुख महराले सञ्चारमन्त्री र राष्ट्रियसभा अध्यक्षसँगसमेत आफूले यो विषयमा कुरा गर्ने बताउनुभयो ।

उहाँले पत्रकारले उठाएका विषयसँग आफू पूर्ण सहमत रहेको भन्दै विधेयक पूर्णरुपमा फिर्ता नभए संशोधनका माध्यमबाट भने पनि पत्रकारका माग सम्बोधन गर्न आफू लागिपर्ने बताउनुभयो ।

ज्ञापनपत्र बुझाउँदै प्रेस युनियनका अध्यक्ष बद्री सिग्देलले सरकारले ल्याएको विधेयक हुबहू कार्यान्वयन भए प्रेसमात्र नियन्त्रण नभई लोकतन्त्र र नागरिक अधिकारसमेत कुण्ठित हुने जिकिर गर्नुभयो ।

युनियनले आजै राष्ट्रियसभा अध्यक्षलाई पनि ज्ञापनपत्र बुझाउँदै छ भने आजै ७७ जिल्लामा प्रमुख जिल्ला अधिकारीमार्फत सभामुखलाई ज्ञापन बुझाउने कार्यक्रम छ । युनियनले भोलि देशभर यस विषयमा अन्तर्क्रिया गर्ने र बिहीबार सबै जिल्ला र काठमाडौंमा संसद् भवनअघि प्रदर्शन गर्ने कार्यक्रम सार्वजनिक गरेको छ ।