नेपालगन्जका धर्मे बुढाक्षेत्रीले गर्छन ठेला व्यापारबाटै मासिक एक लाख आम्दानी

नेपालगन्ज,बैशाख,३१-

चारबाहिनी चोक दक्षिण-पश्चिममा लस्करै खाजा नास्तका ठेला पसलहरु छन।ती मध्ये धर्मे बुढाक्षेत्रीको ठेला पसलमा दिउँसो ३ बजेको टनटलापुर घाममा पनि खाजा खानेहरुको ठेलमठेल छ। चारबाहिनिमा रहेका आधा दर्जन ठेला पसलहरु मध्ये आधाजती धर्मे बुढाक्षेत्रीका हुन।कुनैमा शुद्ध शाहाकारीका परिकारहरु पाइन्छन त कुनैमा मांसाहारी ।

नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ९ बाँके गाउँका बुढाक्षेत्रीले चारबाहिनिमा ठेला पसल राखेको ६ वर्ष पुगिसकेको छ। सुरुमा एउटा ठेलाबाट सुरु गरेका उनले अहिले तिनवटा पुर्याएका छन।उनले आफू सङ्गै अन्य चार जनालाई पनि प्रत्यक्ष रोजगार दिलाएका छन।

२५ वर्षसम्म भारतमा काम गरेका उनी हाल नेपालगन्जको चारबाहिनी चोकमा शान्ति मम चाउमीन सेन्टर नामक आफ्नै नास्ता पसल चलाउँदै आइरहेका छन। बिहानदेखि साँझसम्म उनी व्यस्त रहन्छन। आफुले बनाएको मम, चाउमिन,पनिर नास्ता खानको लागि दिनहुँ २५० ग्राहक आउने उनी बताउँछन। उनलाई व्यापारमा परिवारले पनि धेरै साथ दिएका छन। उनलाई विशेष गरि उनकी श्रीमती तार देवि बुढाक्षेत्री र छोरा पृथ्वी बुढाक्षेत्रीले दिनहुँ सघाउने गर्दछन।

आफ्नो मेहनत र राम्रो व्यवहारले उनको ठेलामा खाजा खान आउने ग्राहकहरुको कहिल्यै कमि नहुने र ठेला व्यापार बाटै मासिक एक लाख कमाइ हुने उनी बताउँछन। ठेला व्यापारबाटै कमाएको पैँसाले उनलाई प्रशस्त खान लाउन पुग्छ। आफ्नो मेहनत र पसिना स्वदेशमै खर्च गर्न सके मनग्ये आम्दानी गर्न सकिने उनी गतिलो उदाहरण बनेका छन।

उनले आफ्नो छोरा र छोरीलाई व्यापार बाटै आएको पैसाले पढाइरहेका छन। उनले सम्पुर्ण खर्चहरु कटाई मासिक २५ हजार बचत पनि गर्ने गर्छन। नेपालमै मिहिनेत गर्न सके राम्रै कमाई गर्न सकिने भएकोले अरुलाई बेकारमा बिदेश नजान सुझाउँछन।

उनको ठेलामा खाजा आउने ग्राहक?हरुले उनले गर्ने व्यवहार र उनले पकाएका परिकारहरुको धेरै प्रशंसा गर्ने गर्छन। आफ्ना ग्राहकहरुलाई भगवान सरह मान्ने उनी ग्रहाकबाट राम्रो प्रतिक्रिया पाउँदा निकै हर्षित हुने गर्छन।