विश्वकप फुटबलको छनोट : नेपालले आज अष्ट्रेलीयासंग प्रतिस्पर्धा गर्ने

काठमाण्डौं,असोज,२३-

विश्वकप फुटबलको दोस्रो चरणको छनोटमा नेपालको राष्ट्रिय फुटबल टिमले आज (बिहिबार) अष्ट्रेलियासंग प्रतिस्पर्धा गर्दैछ ।अष्ट्रेलियाको जियो स्टेडियम क्यानबेरामा हुने खेल नेपाली समय अनुसार दिउँसो पौने ३ बजे सुरु हुनेछ ।

विश्वकप फुटबलमा लगातार सहभागीता जनाउँदै आएको अष्ट्रेलियासंग नेपाली फुटबल टिमले छनोटको तेस्रो खेल खेल्न लागेको हो ।अष्ट्रेलिया वरियताको ४४ औ स्थानमा छ । नेपाल १ सय ६१ औ स्थानमा छ ।

युरोपेली क्लब फुटबलका शीर्ष डिभिजनको लिगमा अभ्यस्त खेलाडी सहित मैदान उत्रन लागेको घरेलु टोली अष्ट्रेलिया नेपालमाथि धेरै गोल गर्ने लक्ष्य राखेको छ ।

अष्ट्रेलियाका प्रशिक्षक ग्राहम आर्नोल्डले नेपालमाथि धेरै भन्दा धेरै गोल गर्ने लक्ष्य रहेको बताएका छन् । उनले आफ्नो टिम पुर्ण रुपमा बलियो रहेको उल्लेख गर्दै नेपालमाथि सहज नतिजा निकाल्ने दाबी गरेका छन् ।

तर समर्थकको राम्रो साथ पाउने अपेक्षा गरेको नेपालले अष्ट्रेलियाविरुद्व उत्कृष्ट प्रर्दशन गर्ने लक्ष्य राखेको छ ।मुख्य प्रशिक्षक योहान कालिनले खेलाडीको क्षमतामा आफुलाई विश्वास गरेको बताएका छन् । उनले नेपालले गर्ने प्रर्दशनमा नतिजा निर्भर रहने प्रष्ट पारेका छन् ।

‘अष्ट्रेलिायबारे धेरै अनुसन्धान गरेको छैन । तर अष्ट्रेलिया धेरै राम्रो टिम हो । राम्रो खेल्ने कोशिश गछौ । आफ्नो उत्कृष्ट दिन्छौ ।’ उनले भने, ‘हामी अन्डरडग हौ । हामी डराएका छैनौ । हामीलाई आफैप्रति आत्मविश्वास छ ।’कालिनले अष्ट्रेलिया निकै राम्रो टोली भएको बताउँदै घरेलु टोलीका खेलाडी धेरे अनुभवी र स्तरीय रहेको बताए । ‘राम्रो नतिजा भन्दा नि राम्रो प्रर्दशन हेर्ने हो । स्तरको कुरा गर्ने हो भने अष्ट्रेलिया खेलाडी धेरै अनुभवी र स्तरीय छन् ।’ उनले भने ।

छनोटको तयारीका लागि नेपाली टिम हप्ता दिन अघिनै सिड्नी पुगेको थियो ।नेपालले विश्वकप छनोटको खेलमा अष्ट्रेलियासंग प्रतिस्पर्धा गर्न लागेको हो ।यसअघि नेपालले कुवेत र चाईनिज ताईपेसंग खेलेको थियो ।अष्ट्रेलिया लगत्तै नेपाली टिम जोर्डन प्रस्थान गर्नेछ । त्यहाँ समेत नेपालले जोर्डनसंग पहिलो लेगको खेल खेल्नेछ ।अष्ट्रेलियामा बस्ने करिब ७ हजार बढी नेपाली दर्शक खेल हेर्न रंगशाला पुग्ने विश्वास गरिएको छ ।खेलपाटीबाट