राष्ट्रपतिद्वारा राप्रपाका नवनियुक्त मन्त्रीहरुलाई शपथ

काठमाडौं, असोज २८-

राष्ट्रपति विद्यादेवी भण्डारीले राप्रपाका नवनियुक्त मन्त्रीहरुलाई आज साँझ पद तथा गोपनीयताको शपथग्रहण गर्नुभएको छ ।राष्ट्रपति भवन शीतल निवासमा आयोजित समारोहमा राष्ट्रपति भण्डारीले उपप्रधानमन्त्री कमल थापा तथा बिनाविभागीय मन्त्रीहरु जयन्त चन्द, दिलनाथ गिरी र विक्रमबहादुर थापालाई शपथ गराउनु भएको हो ।

प्रधानमन्त्री देउवाले शुक्रबार उनीहरुलाई मन्त्री नियुक्त गर्नु भएको थियो । नवनियुक्त मन्त्रीहरुको मन्त्रालय भने तोकिएको छैन । साथै, राप्रपाकै कान्ता भट्टराई, कुन्ती शाही, सुशील श्रेष्ठ र भास्कर भद्रालाई राज्यमन्त्रीमा नियुक्त गरिएको थियो ।

निर्वाचनको मुखमा मन्त्री थप्नु आचारसंहिताविपरीत हुने विवाद बढेपछि राष्ट्रपति भण्डारीले शनिबारै निर्वाचन आयोग र प्रधानमन्त्री शेरबहादुर देउवासँग परामर्श गरी मन्त्रीहरुलाई शपथ गराउनु भएको हो ।

राष्ट्रपतिसँगको छलफलमा प्रमुख आयुक्त डा. अयोधीप्रसाद यादवले सरकार विस्तारलाई आचारसंहिता उल्लंघन नै भन्न नमिल्ने भन्दै आयोगले शपथ नै रोक्नका लागि सुझाव दिन नसक्ने बताएको जनाइएको छ ।

उहाँले सो विषयमा स्वयं राष्ट्रपतिलाई निर्णय गर्ने अधिकार रहेको बताउनु भएको थियो । राष्ट्रपति भण्डारीले आयोगसँगको छलफललगत्तै प्रधानमन्त्री देउवासँग पनि छलफल गर्नु भएको थियो ।