नेपालको खल्तीले जित्यो गुगल बिजनेश ग्रुप स्टोरी कन्टेस्ट

दाङ,असोज,२८-
गुगलले यस वर्षको ग्लोबल गुगल बिजनेश ग्रुप स्टोरी कन्टेस्ट विजेताको रुपमा नेपालको डिजिटल वालेट खल्तीलाई छनोट गरेको छ । गुगल प्रयोग गरी आफ्नो व्यवसाय वा केही उदाहरणीय काम गर्ने व्यक्ति र कम्पनीहरुलाई प्रोत्साहन गर्ने उद्धेश्यले हरेक वर्ष गुगलले यो प्रतिष्पर्धा गर्दै आएको छ ।

‘गुगल बिजनेश ग्रुप स्टोरी सर्च २०१७’ को नाममा सञ्चालित यो प्रतिष्पर्धामा खल्तीसहित ३ नेपाली स्टार्टअप नोमिनेशनमा परेका थिए । कुल ९ स्टार्टअप नोमिनेशनमा परेकोमा नेपालको खल्तीसहित फिलिपिन्सका क्याफे यागम र भर्चअलाहान र इन्डोनेशियाको रिलिभले यो कन्टेस्ट जितेका हुन् ।
यी कम्पनीलाई अनलाइन भोट र गुगलका निर्णायकको भोटका आधारमा छनोट गरिएको हो ।

खल्तीले अब गुगलको हेडक्वाटर सान फ्रान्सिस्कोमा गुगल पेमेन्ट र यसको महत्वपूर्ण टिमबाट प्रत्यक्ष रुपमा मेन्टरसिप प्राप्त गर्ने भएको छ । साथमा विश्वका प्रतिष्ठित टेक थिंकर, इन्नोभेटर र बिजनेश लिडरलाई भेट्न पाउने छ ।

यसअघि नेपालबाट यल्लो नेपालले यो कन्टेस्ट जितेको थियो । अन्तराष्ट्रिय क्षेत्रमा नेपाली प्रतिभालाई चिनाउने यो अर्को अवसर बनेको छ । यसबाट विश्वकै प्रतिष्ठित कम्पनी गुगलले नेपाली कम्पनीलाई पहिचान र कदर गरेको छ ।

खल्ती फिन–टेक कम्पनी हो, जसले नेपालमा क्यासलेस इकोनोमीको अवधारणामा काम गरिरहेको छ । यस कम्पनीले नेपालमा डिजिटल पेमेन्टको माध्यमबाट हरेक नागरिकलाई सेवा प्रदान गर्ने उद्धेश्य लिएको छ ।

खल्तीमार्फत सजिलै विभिन्न भुक्तानीका सेवाहरु अनलाईन र अफलाईन मोडमा उपभोग गर्न सकिन्छ र त्यो वापत राम्रो पैसापनि कमाउन सकिन्छ । साथै खल्तीमा टार्गेटमा आधारित क्यास ब्याक अफर भएकोले बढी कारोबार गर्नेहरुको लागि पनि एकदमै उपयोगी छ ।