भारतबाट अधिकतम दर ३२ रुपैयाँमा विद्युत आयात

नेपालमा ऊर्जा संकटको सम्भावना

काठमाडौं,चैत्र,११-नेपाल विद्युत् प्राधिकरणले अधिकतम मूल्य बिड गरेपछि भारतीय खुला बजारबाट विद्युत् पाएको छ।प्राधिकरणले बिडिङमा प्रस्ताव गरेको दरमा भारतीय व्यापार कम्पनीहरूले पछिल्लो २ दिन (बुधवार र बिहीवार) बिजुली दिन मानेका थिएनन् ।

फलस्वरूप भारतबाट विद्युत् आयात भएको थिएन।त्यसपछि प्राधिकरणले अधिकतम दर प्रस्ताव गरेर विद्युत् आयात गरेको हो ।अहिले भारतीय बजारमा विद्युतको अधिकतम दर २० भारू अर्थात् नेपाली ३२ रुपैयाँ पुगेको छ ।

प्राधिकरणले शुक्रवारका लागि सोही दरमै विद्युत् खरीद गर्ने गरी बिड पेश गरेको थियो । उक्त बिड स्वीकृत भएपछि बिहीवार रातिदेखि नै विद्युत् आयात हुन थालेको प्राधिकरणका प्रवक्ता सुरेश भट्टराईले बताउनुभयो।तर, विभिन्न सेवाशुल्क थप गर्दा प्रतियुनिट ३४/४५ नेपाली रुपैयाँमा पर्ने उहाँको भनाइ छ ।

‘अहिले हामीले औसतमा १० रुपैयाँमा विद्युत् विक्री गरिरहेका छौं । तसर्थ, हामीलाई प्रतियुनिट २५ रुपैयाँसम्म घाटा हुने देखिएको छ,’ उहाँले भन्नुभयो, ‘हामी अहिलेसम्म नाफामै छौं । भारतबाट १ रुपैयाँ ९० पैसामा पनि विद्युत् खरीद गरेको इतिहास छ ।’

निकट भविष्यमा औद्योगिक क्षेत्रलाई विद्युत् आपूर्तिमा समस्या हुने संकेत देखिएको प्राधिकरणका अधिकारीहरू बताउँछन्।अहिले पाकिस्तानमा १६ घण्टा लोडशेडिङ छ।यसैगरी श्रीलंकामा ६–७ घण्टा लोडशेडिङ हुन थालेको छ।भारतीय बजारमै विद्युत् अभाव हुन थालेको छ ।