काठमाडौं,चैत्र,११-नेपालले पहिलो एकदिवसीय अन्तराष्ट्रिय क्रिकेटमा आज शुक्रबार पाहुना टोली पपुवा न्युगिनी (पीएनजी) विरुद्ध प्रतिस्पर्धा गर्दैछ ।
नेपालले घरेलु मैदान टियु क्रिकेट मैदानमा पीएनजीसँग प्रतिस्पर्धा गर्नेछ । नेपाल र पीएनजीबीचको खेल बिहान ९:३० बजे सुरु हुनेछ ।
सन्दीप लामिछानेको कप्तानीमा रहेको नेपाल आज पीएनजीलाई हराउँदै सिरिजमा सुखद सुरुआत गर्न चाहन्छ । पीएनजी पनि नेपाललाई हराएर विजयी सुरुआत गर्न चाहन्छ ।
दुई खेलको एकदिवसीय सिरिज र त्रिदेशीय टी-ट्वान्टी सिरिजका लागि पीएनजी नेपालको भ्रमणमा आएको हो । दोस्रो खेल शनिबार हुनेछ ।
युएईमा सम्पन्न आईसीसी क्रिकेट विश्वकप लिग टु अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय सिरिज खेलेर पीएनजी नेपाल आएको हो ।
उक्त सिरिजमा नेपालले दुबै खेलमा पीएनजीलाई हराएको थियो । पहिलो खेलमा नेपालले पीएनजीलाई २ विकेट तथा दोस्रो खेलमा ७ विकेटले हराएको थियो ।
नेपाली टोलीका मुख्य प्रशिक्षक मुख्य प्रशिक्षक पुबुदु दशानायकेले पीएनजीविरुद्ध युवा खेलाडीलाई मौका दिने बताएका छन् ।
कप्तान सन्दीपले समेत यस सिरिजमा नयाँ र युवा खेलाडीलाई अवसर दिने बताउनुभयो ।