हाम्रो आगमनले ल्यायो ‘आगमन’

दाङ,असोज,२८-
हाम्रो आगमन संस्थामा आबद्ध युवाहरुले प्रकाशन गरेको आगमन म्यागेजिन पत्रिकाको शनिवार घोराहीमा बिमोचन गरिएको छ ।

गोरेटो नेपाल र हाम्रो आगमन संस्थाले संयुक्तरुपमा आयोजना गरेको कार्यक्रममा बरिष्ठ साहित्यकार गिरिराज शर्मा र राप्ती साहित्य परिषद्का अध्यष पुरुषोत्तम खनालले पत्रिका विमोचन गर्नुभएको थियो । पत्रिकाको समीक्षा नयाँ युगबोध दैनिकका सहसम्पादक नरेन्द्र केसीले गर्नुभएको थियो ।

प्रमुख अतिथि शर्माले युवाहरु साहित्यिक क्रियाकलापमा लाग्नु खुशीको कुरा भएको बताउँदै यो पत्रिकालाई निरन्तरता दिन आग्रह गर्नुभयो । समाज रुपान्तरणमा साहित्यको महत्वपूर्ण भूमिका हुने भएकाले युवाले साहित्यमा चासो दिन आवश्यक रहेको बताउनुभयो । बिशिष्ठ अतिथि खनालले संस्था सञ्चालन गर्न उत्तराधिकारीको विकास गर्नुपर्नेमा जोड दिनुभयो । एउटा कालखण्डमा एक जना वा केही व्यक्तिले शुरुवात गरे पनि त्यसलाई निरन्तरता दिन उत्तराधिकारी आवश्यक पर्ने बताउनुभयो ।

गोरेटो नेपालका सहसंयोजक बसन्त रिजालको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष सविन प्रियासन, सिस्नुपानी नेपालका अध्यक्ष डा। लोकराज पराजुलीलगायतले शुभकामना दिनुभएको थियो । सो अवसरमा साहित्यकारहरु यज्ञबहादुर डाँगी, टीकाराम उदासी, नारायण नेपाल, तिलक अधिकारी, आदिम केसी, दीपा धिताल, नवीन अभिलाषी, नवीन शर्मा, प्रवल बिष्ट, विकास रोकालगायतले रचना बाचन गर्नुभएको थियो ।

वेदब्यास पोख्रेलको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रम सञ्चालन हाम्रो आगमन संस्थाका सचिव राजेन्द्र खरेलले गर्नुभएको थियो ।