आज स्थानीय तहको निर्वाचन हुदैं, १ करोड ७७ लाखले मतदान गर्दै

६५ लाख मतदाता मतदानबाट बञ्चित,यसमध्य ६० लाख जनसंख्या विदेशमा

काठमाडौं,बैशाख,३०-आज देशभर स्थानीय तहको निर्वाचन हुदैंछ ।मुलुक संघीयतामा गइसकेपछि दोस्रो पटक हुन गइरहेको स्थानीय तह निर्वाचनमा १ करोड ७७ लाख ३३ हजार ७ सय २३ मतदाताले मताधिकार प्रयोग गर्दैछन् ।

निर्वाचनका ८९ लाख ९२ हजार १० जना पुरुष, ८७ लाख ४१ हजार ५३० महिला र १८३ अन्य मतदाता छन् । देशभर ६ महानगरपालिका, ११ उपमहानगरपालिका, २७६ नगरपालिका र ४६० गाउँपालिका गरी ७५३ स्थानीय तहबाट कुल ३५ हजार २ सय २१ जनप्रतिनिधि निर्वाचित हुनेछन् ।

७ सय ५३ स्थानीय तहका विभिन्न पदका लागि एक लाख ४५ हजार ११ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् । जसमध्ये ८९ हजार ३१३ पुरुष र ५५ हजार ६९८ महिला उम्मेदवार छन् । कुल उम्मेदवारमध्ये तीन सय ९० जना निर्विरोध निर्वाचित भइसकेको निर्वाचन आयोगले जनाएको छ ।

स्थानीय तह निर्वाचनका लागि १० हजार ७५६ मतदान स्थल र २१ हजार ९५५ मतदान केन्द्र तोकिएका छन् । स्थानीय तह निर्वाचनबाट ७५३ पालिकामध्ये २९३ मा नगरप्रमुख र ४६० मा गाउँपालिका अध्यक्ष निर्वाचित हुने छन् । सोही संख्यामा नगर उपप्रमुख र गाउँपालिका उपाध्यक्ष चयन हुनेछन् ।

निर्वाचनबाट ६ हजार ७४३ वडाध्यक्ष, ६ हजार ७४३ महिला सदस्य, ६ हजार ७४३ दलित महिला सदस्य र १३ हजार ४८६ खुला वडा सदस्य निर्वाचित हुने आयोगले जनाएको छ । निर्वाचनका लागि सरकारले १ लाख ९ हजार ८८ कर्मचारी र ६५ हजार ८६५ स्वयमसेवक खटिएका छन् । स्थानीय तह निर्वाचनमा ५ हजार पर्यवेक्षकहरुले पर्यवेक्षण गर्नेछन् ।

यसैबिच : आज स्थानीय तहको निर्वाचनका लागी घरदेशमै रहेर पनि बाध्यतावश मतदाता नामावली रहेको आफ्नो थातथलो पुग्न नसकेका लाखौं मतदाता मतदानबाट वञ्चित भएका छन् ।

आफ्नै भूमिमा आफूहरू अनागरिक हुनुपरेको पीडाले उनीहरूलाई घोचेको छ । अब हुने चुनावमा जहाँ रहे पनि मताधिकार सुरक्षित गरिदिन मतदानबाट वञ्चित मतदाताले आग्रह गरेका छन् ।

यसपटकको निर्वाचनमा देश विदेशमा रहेका झण्डै ६५ लाख मतदाता मतदान गर्नबाट बञ्चित भएको तथ्याङ्क छ । यसमध्ये कुल जनसंख्याको २० प्रतिशत अर्थात ६० लाख जनसंख्या विदेशमा छ ।

नेपालमा रहेकामध्ये मतदानमा खटिने ३ लाख कर्मचारी र २ लाख ५० हजार सुरक्षाकर्मीले मत हाल्न पाउँदैनन् । तर, तथ्याङ्कमा उल्लेख भएका बाहेक अरु धेरै नागरिक मतदाताबाट बञ्चित हुने देखिएको छ ।

कुन प्रदेशमा कति मतदाता छन् ।।

स्थानीय तह निर्वाचनको लागि प्रदेश १ मा ३३ लाख ४७ हजार ३८४, मधेश प्रदेशमा ३३ लाख ३१ हजार १७० र बागमती प्रदेशमा ३४ लाख १२ हजार ८६९ मतदाता रहेको निर्वाचन आयोगले जनाएको छ ।यस्तै,गण्डकी प्रदेश १७ लाख ८९ हजार ४११, लुम्बिनी प्रदेश ३२ लाख १९ हजार ४५७, कर्णाली प्रदेश १० लाख १ हजार २८२ र सुदूरपश्चिम प्रदेशमा १६ लाख ३२ हजार १५० मतदाता छन् ।

प्रदेश १ मा १ महानगर, २ उपमहानगर, ४६ नगर र ८८ गाउँ गरेर १३७, मधेस प्रदेश १ महानगर, ३ उपमहानगर, ७३ नगर र ५९ गाउँपालिका गरी १३६ तथा बागमती प्रदेशमा ३ महानगर, १ उपमहानगर, ४१ नगर, ७४ गाउँपालिका गरी ११९ स्थानीय तह छन् ।

गण्डकी १ महानगर, २६ नगर र ५८ गाउँपालिका गरी ८५, लुम्बिनी ४ उपमहानगर, ३२ नगर र ७३ गाउँपालिका गरी १०९, कर्णाली २५ नगर र ५४ गाउँपालिका गरी ७९ तथा सुदूरपश्चिममा १ उपमहानगर, ३३ नगर र ५४ गाउँपालिका गरी ८८ स्थानीय तह छन् ।

निर्वाचन आयोगअनुसार प्रदेश १ मा १ हजार १५७, मधेस प्रदेश १ हजार २७१, बागमती १ हजार १२१, गण्डकी ७५९, लुम्बिनी ९८३, कर्णाली ७१८ र सुदूरपश्चिम प्रदेशमा ७३४ वडाहरू छन् ।

निर्वाचनका लागि आयोगले प्रदेश १ मा १ हजार ८७७ मतदान स्थल र ४ हजार ५१ मतदान केन्द्र, मधेस प्रदेश २ हजार १६३ मतदान स्थल, ४ हजार १८९ मतदान केन्द्र तथा बागमती १ हजार ७९२ मतदान स्थल र ४ हजार ९५ मतदान केन्द्र तोकेको छ ।

गण्डकी १ हजार २५३ मतदान स्थल र २ हजार ३०० मतदान केन्द्र, लुम्बिनी १ हजार ६२९ मतदान स्थल र ३ हजार ८२ मतदान केन्द्र तोकिएका छन् । कर्णाली प्रदेशमा ९०७ मतदान स्थल र १ हजार ३८५ मतदान केन्द्र तथा सुदूरपश्चिम प्रदेशमा १ हजार १३५ मतदान स्थल र २ हजार १०३ मतदान केन्द्र तोकिएको आयोगले जनाएको छ ।

स्थानीय तह निर्वाचन प्रयोजनका लागि निर्वाचन आयोगमा ७९ दल दर्ता भएका थिए।तीमध्ये ६५ दलहरूले उम्मेदवारी मनोनयन गराएका छन् भने १४ दलले एउटा पनि उम्मेद्वारी मनोनयन नगराएको निर्वाचन आयोगले जनाएको छ ।