बाँकेको सीतापुरमा जुनियर एथलेटिक्स च्याम्पियनसिप प्रतियोगिता हुने

राम सुनाम/

बाँके,पौष,११-

बाँकेको खजुरागाउँपालिकास्थित सीतापुरमा पौष १२ गते देखि दोस्रो राष्ट्रिय जुनियर एथलेटिक्स च्याम्पियनसिप प्रतियोगिता सुरु हुदैछ । प्रतियोगिता बाँके जिल्ला एथलेटिक्स संघको आयोजना र मध्यपश्चिम क्षेत्रीय खेलकुद विकास समितिको समन्वयमा हुन लागेको हो ।

आज पत्रकार सम्मेलनको आयोजना गरी आयोजकले प्रतियोगिताको तयारी पुरा भएको जानकारी गराएको हो । शुक्रमाविको खेल मैदानमा हुने प्रतियोगितामा एथलेटिक्सका ११ इभेन्ट समावेश गरिएको छ ।

तीनदिन सम्म चल्ने प्रतियोगितामा फिल्डतर्फ लङजम्प, त्रिपल जम्प, सटपुट, ज्याभलिङमा प्रतिस्पर्धा हुने प्रतियोगिताका प्राविधिक संयोजक चन्द्र गुरुङले जानकारी दिनुभयो । ट्रयाकतर्फ एक सय मिटर, दुई सय, चार सय, आठ सय, एक हजार पाँच सय, पाँच हजार र चार गुणा एक एक सय मिटर रिले दौडमा पनि प्रतिस्पर्धा हुने संयोजक गुरुङले जानकारी दिनुभयो ।

प्रतियोगितामा देशभरका ९० खेलाडीले प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगिताको विहान ११ बजे उद्घाटन गरिनेछ । पत्रकार सम्मेलनमा नेपाल एथलेटिक्स संघका अध्यक्ष राजीव विक्रम शाहले ग्रामीण क्षेत्रमा खेलको विकास गर्न ग्रामीणस्तरमै प्रतियोगिता आयोजना गरिएको बताउनुभयो ।