बाँकेमा शीतलहरबाट जोगाउन न्यानो कपडा र कम्वल वितरण गरिने

राम सुनाम/

बाँके,पुस,११-

बाँकेमा केही दिन यता ह्वात्तै जाडो बढेको महशुस स्थानियले गरेका छन । जाडोको प्रभावलाई मध्यनजर गर्दै बाँकेको स्थानीय तहले सर्वसाधारणलाई शीतलहरबाट जोगाउन दाउरा वितरण गर्दैछ । स्थानीय तहले दाउरा बितरण सँगै अति विपन्न परिवारको पहिचान गरी न्यानो कपडा र कम्वल समेत वितरण गर्ने भएको छ ।

जिल्लाका ८ वटै स्थानीय तहमा विपत व्यवस्थापन समिति गठन गरी शीतलहर पूर्वतयारी र प्रतिकार्य योजना बनिसकेको र योजना अगाडी बढीसकेको जिल्ला दैवि प्रकोप उद्दार समितिका संयोजक समेत रहनुभएका बाँकेका प्रमुख जिल्ला अधिकारी रमेशकुमार केसीले जानकारी दिनुभयो ।

बालबालिका, जेष्ठ नागरिक र बाढीपीडितको पहिचान गरिसकिएको जानकारी दिँदै केसीले आवश्यकताका आधारमा आगो ताप्नका लागि दाउरा वितरण गर्नेदेखि न्यानो कपडा र कम्वल वितरणको काम तत्काल प्रारम्भ हुने बताउनुभयो । चिसो मौसममा पश्चिम तराईका जिल्लामा शीतलहर हुने भएकाले प्रशासनले बाँकेलाई पनि दैवि प्रकोपको सूचिमा राखेको छ ।

बाँकेको राप्तीसोनारी गाउँपालिका, जानकी गाउँपालिका र बैजनाथ गाउँपालिकामा आज विपत् व्यवस्थापन समिति गठन गरिएको छ भने अन्य स्थानीय तहमा पनि तत्काल समिति गठन गरिने प्रमुख जिल्ला अधिकारी केसीले बताउनुभयो ।