जिल्लामै पहिलो विद्यालय भवन हस्तान्तरण

काठमाडौं,भाद्र,९-

भूकम्प प्रभावित विद्यालयहरु मध्ये जिल्लामै पहिलोपटक चन्द्रागिरि नगरपालिका–१३, नैकाप स्थित विद्यामन्दिर माविलाई नयाँ विद्यालय भवन हस्तान्तरण गरिएको छ । भूकम्पले भवनमा क्षति पुर्याएपछि विद्यार्थीहरु कष्टसाथ अस्थायी टहरामा पठन–पाठन गर्दै आएका थिए ।

जिल्ला आयोजना कार्यान्वयन इकाई काठमाडौंले जिल्लामै पहिलो पटक विद्यालयलाई नयाँ भवन बनाएर हस्तान्तरण गरेको हो । अब यस प्रक्रियाले निरन्तरता पाउने इकाईले जनाएको छ । २०७२ बैशाख १२ गतेको विनाशकारी भूकम्पका कारण क्षतिग्रस्त विद्यालय भवनको पुनर्निमाणका लागि इकाईले २०७४ मंसिर २५ गते सम्झौता गरेको थियो ।

इकाईले एक करोड सात लाख पाँचहजार दुईसयमा आठकोठे दुईतले अत्याधुनिक भवन र शौचालय निर्माण गरिदिएको हो ।विद्यालयमा आयोजित भव्य कार्यक्रमका बीच जिल्ला आयोजना कार्यान्वयन इकाई काठमाडौंका प्रमुख अर्जुन बहादुर रायमाझीले विद्यालयका प्रधानाध्यापक माधव गौतमलाई विद्यालय भवन हस्तान्तरण गरेका हुन् ।

कार्यक्रमका प्रमुख अतिथि एवं चन्द्रागिरि नगरपालिकाका मेयर घनश्याम गिरीले भूकम्प प्रभावित मध्ये काठमाडौंकै पहिलो विद्यालय भवन हस्तान्तरण विद्यामन्दिर मावि बाट शुरु हुनु सकारात्मक विषय भएको बताए । अस्थायी टहरामा कष्टसाथ हुँदै आएको पठन–पाठन अब अब नयाँ भवनमा हुनेभएपछि यसले सिकाइ सुधारमा पनि भुमिका खेल्ने मेयर गिरीले आशा यक्त गरे ।

यो क्षेत्रकै पुरानो विद्यालयले नयाँ भवन पाएको छ– गिरीले भने, अब शैक्षिक गुणस्तर सुधारमा केन्द्रीत होस् ।नवनिर्मित विद्यालय भवन हस्तान्तरण गर्दै आयोजना कार्यान्वयन इकाई प्रमुख अर्जुन रायमाझीले माघ १५ मा निर्माण सम्पन्न हुनुपर्ने विद्यालय भवन ४ महिना ६ दिन १३ घण्टा छिटो हस्तान्तरण गर्न आफूहरु सफल रहेको बताए ।

यो एउटा गतिलो शुरुवात मात्रै भएको र यही महिना बाट भटाभट नवनिर्मित विद्यालय भवन हस्तान्तरण अभियान शुरु हुने रायमाझीले स्पष्ट पारे ।म बोलीमा होइन काममा विश्वास गर्छु– भन्दै निकै छाटो मन्तव्य राखेका रायमाझीले अब काठमाडौंमा बालबालिकाहरुको छिट्टै अस्थायी टहरामा पढ्नुपर्ने बाध्यता अन्त्य हुने जिकिर गरे ।

हिजो के भयो मलाई थाहा भएन इकाईमा म आएपछि काममा तिव्रता आएको छ, उनले भने– यहाँ जस्तै अन्य विद्यालयहरुमा पनि निर्धारित भन्दा छिटो भवनहरु निर्माण भइरहेका छन् ।विद्यालयका प्रधानाध्यापक माधव गौतमले यसअघि भौतिक पुर्वाधारको जोगाडमा धेरै ध्यान दिनुपरेको भएपनि अब भवन पाएपछि सिकाइ सुधारमा मात्रै केन्द्रीत हुने जानकारी दिए ।

भूकम्पपछि यसवर्ष निर्माण सम्पन्न भएको यही विद्यालय भएको इकाईले जनाएको छ । ईकाइले विभिन्न मोडलमा विद्यालय भवनको पुनर्निर्माण गर्दै आएको छ । यसवर्ष विद्यालय व्यवस्थापन समिति मार्फत ३९ वटा, एसियाली विकास बैंक मार्फत ११, युएसआइी मार्फत २ र एउटा चाइनिज राजदुतावास मार्फत ५३ विद्यालय पुनर्निर्माण सम्पन्न कार्यान्वयन भइसक्ने इकाईले जनाएको छ ।

सेतीदेवि मावि दक्षिणकाली–९ र श्रीकृष्ण मावि दक्षिणकाली–८ को भवन पुननिर्माण सम्पन्न भइसकेकाले आगामी असोज १२ गते विद्यालयलाई हस्तान्तरण गर्ने कार्यक्रम रहेको कार्यान्वयन इकाईले जनाएको छ ।