प्रधानमन्त्री तथा उद्योग परिसंघ बीच मुलुकको अर्थतन्त्रबारे छलफल

Image Not Foundकाठमाडौं,आषाढ,२४-नेपाल उद्योग परिसंघको प्रतिनिधिमण्डलले बिहीवार अर्थ मन्त्रालयसमेत सम्हाल्नु भएका प्रधानमन्त्री शेरबहादुर देउवासँग मुलुकको आर्थिक अवस्था लगायत विषयमा भेटवार्ता गरेको छ ।

परिसंघका अध्यक्ष विष्णुकुमार अग्रवाल नेतृत्वको टोलीले प्रधानमन्त्री देउवालाई मुलुकको आर्थिक अवस्था, बजेट कार्यान्वयन, मौद्रिक नीति, नव प्रवर्तन उद्यम प्रोत्साहनलगायतका विषयमा जानकारी गराएको हो । 

उक्त अवसरमा परिसंघका पदाधिकारीहरुले मुलुकको पछिल्लो आर्थिक अवस्था सुधार्न चाल्नुपर्ने कदम, बजेटको कार्यान्वयनका लागि प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका थिए ।

सोही अवसरमा लगानीयोग्य रकमको अभाव र समाधानका लागि आगामी मौद्रिक नीतिमार्फत सम्बोधन गर्न चाल्नुपर्ने विषय, घट्दो विदेशी विनिमय सञ्चिति, लगानी प्रवर्द्धन   एवम् दीर्घकालीन रुपमा लिइनुपर्ने नीतिका विषयमा पनि प्रधानमन्त्रीसँग छलफल भएको परिसंघले बताएको छ ।

परिसंघका अध्यक्ष अग्रवालले तरलता अभावका कारण नयाँ उद्योगमा लगानी विस्तार हुन नसकिरहेको भन्दै मौद्रिक नीतिमार्फत सम्बोधन गरिनुपर्ने सुझाव दिएको बताउनुभयो।साथै उहाँले आगामी भदौ २३ र २४ गते हुने पूर्वाधार सम्मेलनलगायतका विषयमा प्रधानमन्त्रीलाई जानकारी गराएका थिए।उक्त अवसरमा प्रधानमन्त्री देउवाले परिसंघका मागबारे उचित सम्बोधन गर्ने प्रतिबद्धता ब्यक्त गर्नुभएको थियो ।

उक्त प्रतिनिधिमण्डलमा परिसंघका पूर्व अध्यक्ष हरिभक्त शर्मा, उपाध्यक्षहरु कृष्णप्रसाद अधिकारी, विरेन्द्रराज पाण्डे, महानिर्देशक दिपकराज जोशी, परिसंघ युवा उद्यमी मञ्चका पूर्व अध्यक्ष च्याङ अग्रवाल लगायत सहभागी थिए ।