पूर्व प्रधानमन्त्री डा: भट्टराईद्धारा निर्मलाका बुवालाई १ लाख सहयोग

काठमाडौं,मंसिर,१०-

नयाँ शक्ति पार्टी नेपालका संयोजक एवं पूर्व प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईले त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा उपचाररत निर्मला पन्तको बुबा यज्ञराजको स्वास्थ्य अवस्थाबारे जानकारी लिनु भएको छ ।

उहाँले यज्ञराज पन्तको उपचारका लागि १ लाख रुपैयाँ सहयोग समेत हस्तान्तर गर्दै सुरक्षा दिने नाममा प्रमाण नष्ट गर्नेहरुलाई कडा कारवाही गरिनु पर्ने माग गर्नु भएको छ । प्रहरीलाई वर्खास्तको मात्र सजाय कम भएको बताउँदै डाक्टर भट्टराई कारवाही लुलो हुनु नै अपराधी जोगाउने खेल भएको आरोप लगाउनु भयो । बलात्कारपछि हत्या गरिएकी आफ्नी छोरी निर्मला पन्तको हत्यारा पत्ता लगाउन माग गर्दै कञ्चनपुरस्थित जिल्ला प्रशासन कार्यालय अघि धर्नामा रहदा अस्वस्थ्य भएका यज्ञराजलाई हिजो काठमाडौं ल्याइएको हो ।

बर्बराउने, चिच्याउने जस्ता अस्वभाविक कार्य गर्नुका साथै डिप्रेसनमा पनि परेपछि यज्ञराजलाई बेहोस हुने सुई लगाएर काठमाडौं ल्याइएको हो । काठमाडौं ल्याउन क्रममा उनको खुट्टा फ्याक्चर समेत भएको छ ।