गुरुवा गाउँ मेलामा कांग्रेस इकाईद्धारा पानी तथा प्राथमिक उपचार सेवा प्रदान

नेपालगञ्ज,मंसिर,८-
बाँकेको गुरुवा गाउँमा जारी मेलामा नेपाली कांग्रेस इकाई समितिले पेय जल तथा प्राथमिक स्वास्थ्य उपचार सेवा प्रदान गरेको छ । जानकी गाउपालिका वडा नं. ५ गुरुवा गाउँमा शुक्रवारबाट शुरु भएको तीन दिने मेलामा दर्शकहरुलाई पानीको अभाव तथा चोट पटक लागेको तत्काल आवश्यक औषधीको अभाव हुन नदिन इकाई समितिले शुद्ध पेय जल तथा प्राथमिक उपचारको व्यवस्थापन गरेको हो ।

कार्तिक पुर्णिमाको अवसरमा आयोजना भएको तीन दिने मेलामा दुई दिनको अवधीसम्म करिब पाँच हजार दर्शकहरुले मेला अवलोकन गरेको कांग्रेस इकाई बेलहरीका सचिव टिकानाथ यादवले बताउनुभयो । उहाँका अनुसार मेलामा आउने दर्शकहरुले खाजा, नास्ता गर्दाको अवस्थामा शुद्ध पानीको व्यवस्था नहुने र सो अवस्थामा बोतलको पानी किन्नुपर्ने अवस्थालाई मध्यनजर गर्दै शुद्ध पेय जलको व्यवस्था गरिएको छ ।

नेपाल तरुण दल जानकी गाउँपालिकाका सभापति राजु यादवले मेला अवधिभर दर्शकहरुलाई पानी तथा प्राथमिक उपचारको व्यवस्थापन गरिएको बताउनुभयो । मेला हेर्न खजुरा गाउँपालिका, कोहलपुर नगरपालिका, डुडुवा गाँउँपालिका, नेपालगञ्ज उपमहानगरपालिका लगायतका बिभिन्न क्षेत्रबाट दर्शकहरु पुग्ने गरेका छन् । मेला भोलिसम्म चल्नेछ ।