‘ए’ डिभिजन लिग फुटबलमा आज तीन खेल हुँदै

काठमाडौं,पुष,२४-सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा आठौं चरणअन्तर्गत आज तीन वटा खेल हुँदैछन् । दशरथ रंगशालामा दुई वटा र पोखरामा एउटा खेल हुनेछ ।

दिउँसो १ बजे दशरथ रंगशालामा मच्छिन्द्र फुटबल क्लब र फ्रेन्ड्स क्लब खेल्नेछन् । अंकतालिकामा शीर्ष स्थानमा रहेको मच्छिन्द्रको ७ खेलमा १७ अंक छ । समान खेलमा तीन अंक मात्रै रहेको फ्रेन्ड्स पुछारमा छ ।

यस्तै, पोखरा रंगशालामा दिउँसो दुई बजे मनाङ मर्स्याङ्दी क्लब र च्यासल युथ क्लब खेल्दैछन् । मनाङ अंक तालिकाको दोस्रो स्थानमा छ । उसको ७ खेलमा १६ अंक छ । च्यासल ७ खेलमा पाँच अंकका साथ पुछारबाट दोस्रो स्थानमा छ ।

दशरथ रंगशालामा आज हुने दोस्रो खेलमा बेलुका पौने पाँच बजे न्युरोड टिम क्लब (एनआरटी) र त्रिभुवन आर्मी क्लब खेल्नेछन् । सातौं स्थानमा रहेको एनआरटीको ७ खेलमा १० अंक छ । समान खेलमा ११ अंक रहेको त्रिभुवन आर्मी तालिकाको चौथो स्थानमा रहेको छ ।