मनाङ संग थ्रीस्टार पराजीत : च्यासलको एनआरटी माथि ५–१ को फराकिलो जित

काठमाडौं,मंसिर,६-

सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा उपाधिको दावेदार थ्रीस्टारमाथि अर्को दावेदार मनाङ–मर्स्याङ्दी क्लब हावी भएको छ । मनाङले आज भएको तेस्रो चरणको खेलमा थ्रीस्टारलाई २–१ ले पराजित गरेको छ ।

खेलको सुरुआतमै अग्रता लिएको मनाङले अन्त्यतिर एक गोल खाएको हो ।  खेलको ११औं मिनेटमा अन्जन विष्ट र १८औं मिनेटमा विदेशी खेलाडी एड्लाजाले गोल गर्दै मनाङलाई अग्रता दिलाएका थिए ।

थ्रीस्टारका रन्जित धिमालले ८४औं मिनेटमा पेनाल्टीमार्फत् गोल गर्दै अन्तर कम गरे । त्यसपछि पाएको फ्रिकिकलाई भने मनाङका गोलकिपर विशाल श्रेष्ठले बचाउ गर्दै थ्रीस्टारलाई बराबरी गोल हुन दिएनन् ।

यो जितसँगै मनाङ थ्रीस्टारमाथि ३ अंकको अग्रता बनाउँदै लिग तालिकाको शीर्ष स्थानमा पुगेको छ । मनाङको ३ खेलबाट ९ अंक भएको छ भने थ्रीस्टार र एक खेल कम खेलेको संकटा क्लबको समान ६/६ अंक छ ।

लिगमा च्यासल युथ क्लब चौथो स्थानमा पुगेको छ । पहिलो शानदार नतिजा हासिल गर्नेक्रममा आजै बिहीबार न्यूरोड टिम (एनआरटी)माथि ५–१ को फराकिलो जितसहित च्यासलले महत्वपूर्ण ३ अंक बटुलेको हो ।

च्यासलका लागि बिमल घर्तीमगर र अमिर श्रेष्ठले समान २/२ गोल गर्दा सन्तोष साहुखलले १ गोल थपे । एनआरटीका लागि अफ्रिकन खेलाडी मोसुद अग्बोलाले एक सान्त्वना गोल फर्काए ।

जितसँगै च्यासलको ३ खेलबाट ४ अंक भएको छ । हिमालयन शेर्पा, सशस्त्र प्रहरी, त्रिभुवन आर्मी र नेपाल पुलिस क्लबको पनि समान ४/४ अंक छ ।

मच्छिन्द्रको २ अंक छ भने नराम्रो हार व्यहोरेको एनआरटी १ अंकसहित दशौं स्थानमा झरेको छ । फ्रेन्ड्स, सरस्वती, जावलाखेल र ब्रिगेड ब्वाइज अंकविहीन छन् ।

लिगअन्तर्गत् भोली शुक्रबार तीन खेल हुनेछन् । बिहान ११ बजे आर्मी र पुलिस भिड्दा दिउँसो साढे २ बजे मच्छिन्द्र र संकटा तथा ब्रिगेड ब्वाइज र सशस्त्र प्रहरी खेल्नेछन् । ईमेजखबरबाट