कक्षा ११ को परीक्षा असार १ बाट हुने

काठमाडौँ,जेठ- १८-

कक्षा ११ को परीक्षा आगामी असार १ गतेदेखि सञ्चालन हुने भएको छ । स्थानीय तहको निर्वाचनका कारण तेस्रोपटक परीक्षा सारिएको हो ।

परीक्षा आगामी असार १० गतेसम्म सञ्चालन हुनेछ । राष्ट्रिय परीक्षा बोर्डले सुरुमा गत वैशाख २३ गतेबाट परीक्षा सञ्चालन गर्ने गरी तालिका सार्वजनिक गरेकोमा स्थानीय तहको निर्वाचनका कारण असार १ गते सारिएको थियो । दोस्रो चरणको निर्वाचनका कारण पुनः असार ८ गतेका लागि तोकिएको थियो ।

सरकारले बुधबार निर्वाचनको मिति असार १४ गतेलाई सारेपछि बोर्डले परीक्षाको नयाँ मिति तोकेको हो ।

बोर्डका सदस्यसचिव डा डिल्लीराम रिमालले दोस्रो चरणको निर्वाचन सम्पन्न हुनुअगावै परीक्षा सक्नका लागि परीक्षा सारिएको बताउनुभयो । परीक्षा समन्वय समितिको बैठकले परीक्षा सार्ने निर्णय गरेको थियो ।